जानकीमा ठूलो बजेट सडकमा

सडकबारे जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत खत्री ।

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा यो वर्ष सडक निर्माणमै ठूलो बजेट परेको छ ।
गाउँपालिकाले करोडौका आधा दर्जनबढी ठूला सडक निर्माण गरिरहेको छ । असार मसान्तसम्ममा काम सक्ने गरी बाटो निर्माणको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत खत्रीले भन्नुभयो, ‘जानकीले गरेको देखिने र ठूला योजनाका काम सडक नै हुन् ।’
गनापुरदेखि गाउँपालिका कार्यालय हुँदै नेपालगञ्ज–गुलरिया सडकमा जोड्ने लिंक रोड ठूलो लागतमा बन्दैछ । ६ किलोमिटर ६ सय ४० मिटरको यो सडकमा ८ करोड २९ लाख रुपैया छुट्याइएको छ । यो वर्ष यो सडकमा ग्राभेल हुन्छ । नहरचोकदेखि साहदतपुरको लिंक रोडको पनि तीन करोडको लागतमा काम भइरहेको छ । दोस्रो फेजमा काम भइरहेको यो सडकमा प्रदेश सरकारले एक करोड ५० लाख र गाउँपालिकाले एक करोड ५० लाख हालेका छन् । यो समपुरक कार्यक्रमअन्तर्गतको सडक हो ।
दुई करोड ८८ लाख रुपैयामा मोतिपुर–रम्भापुर–बन्जाडेगाउँको सडक बनिरहेको छ । राष्ट्रिय योजना आयोग (विशेष अनुदान) र गाउँपालिकाले आधा–आधा लगानी गरेका छन् । नौ सय मिटरको नाली, ढक्कनसहित यो सडक पिच हुन्छ । कोठारपुर–भाटनपुर सडकमा एक करोड ८४ लाख रुपैया खर्च गरेर ग्राभेल गर्ने योजना रहेको छ । पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत एक करोड ५० लाख रुपैया खर्च गरेर गुरुवागाउँमा नालीसहित पिच बाटो बनिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीका अनुसार, विशेष अनुदानमा वडा नं. ६ को भाटनपुर माविमा एक करोड १० लाख रुपैया खर्च गरेर भवन बनाइदैछ । वडा नं. ३ मा एक करोड ५० लाखको स्वास्थ्य चौकी र वडा नं. ६ मा बर्थिङ सेन्टर, तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत विभिन्न ६ वटा स्कूलमा दुई कोठे पक्की भवन बन्दैछन् ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीले यीबाहेक साना कार्यक्रम थुप्रै गरेको बताउनुभयो । जानकी गाउँपालिका नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !