‘पोजिटिभ’लाई घर पठाइयो
नेपालगञ्ज – बाँकेमा ३८ जना कोरोना संक्रमितलाई नेगेटिभ रिपोर्ट नआउदै घर पठाइएको छ ।
खजुराको कृषि अनुसन्धान केन्द्रबाट १९ जना, लायन्स डेन्टल आइसोलेसन सेन्टरबाट १४ जना, खजुरा क्यान्सर अस्पतालमा रहेको आइसोलेसन अस्पतालबाट तीन जना र राप्तीसोनारीको शहीद स्मारकबाट दुई जनालाई घर पठाइएको हो ।
लायन्स डेन्टल अस्पतालमा रहेका १४ जनाकै दोस्रो रिपोर्ट पोजिटिभ थियो । १४ जनामध्ये तीन जना दाङको बेलझुण्डी अस्पतालले पठाइ दिएको पोजिटिभ हुन् । बेलझुण्डीले पोजिटिभलाई घर पठाएको भन्दै विरोध भएपछि स्थानीय प्रशासनले उनीहरुलाई डेन्टलमा ल्याएर राखेको थियो । तर, उनीहरुलाई चेक नै नगरी घर पठाइएको छ । अरुको हकमा रिचेक नै गरिएन ।
स्वास्थ्य मन्त्रालयले १४ दिन आइसोलेसन अस्पताल वा सेन्टरमा बसेका पोजिटिभ व्यक्तिमा कुनै लक्षण नदेखिएमा चेक नै नगरी घर पठाइदिन निर्देशन गरेको छ । शुरुवातमा पोजिटिभलाई घर पठाउन नमानेको स्थानीय प्रशासनले अहिले आएर स्वास्थ्य मन्त्रालयको निर्देशिकाको पालना गरेको छ । १४ दिन पुगिसकेका ३८ जना पोजिटिभलाई नेगेटिभ रिपोर्ट नआउदै घर पठाएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार, शुरुवाती चरणमा कोरोना पुष्टि भएका सबै व्यक्ति घर जादैछन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ३८ जना निको भएर घर गएको बताउनुभयो ।
बुधबारको सहित बाँकेबाट एक सय ३५ जना घर फर्किएका छन् ।