वडा नं. १८ मा धमाधम काम
नेपालगञ्ज – लकडाउनको कहरका बीच नेपालगञ्जको वडा नं. १८ ले विकासको कामलाई द्रुतगतिमा अघि बढाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकले सामाजिक दुरी कायम गरी योजनाको कामलाई अघि बढाउने निर्णय गरेसँगै यतिबेला वडा नं. १८ का अध्यक्ष दीपक बर्मा काममा जुट्नु भएको हो ।
वडा कार्यालयको मात्रै नभई सहयोगीदातासँग सहयोग जुटाएर राहत वितरण गर्नु भएका वडाध्यक्ष बर्मा अहिले सडक, नाली निर्माण, सोलार जडानलगायत कार्यमा जुटिरहनु भएको छ । वडाध्यक्ष बर्माले भन्नुभयो, ‘लकडाउनले दुई महिना काम गर्न पाइएन । अहिले योजनाका काम दु्रतगतिमा अघि बढाइरहेको छु ।’
नागरिक तथा शिवनगर टोलमा पाँच सय मिटर पक्की नालासहितको सडकको कालो पत्रेको काम धमाधम भइरहेको छ । बर्दिया बाइबासदेखि उत्तर तेजनगरमा कालोपत्रेको काम थालिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याएको बजेटले तेजनगरमा काम भइरहेको वडाध्यक्ष बर्माले जानकारी दिनुभयो । ‘यो सडक असार पहिलो हप्तामै कालोपत्रे हुन्छ, वडाध्यक्ष बर्माले भन्नुभयो, लकडाउनको शुरुवाती दुई महिना निर्माण सामाग्रीको अभावले हुन नसकेका कामहरु अहिले तिब्रगतिमा अघि बढेको छ ।’
वडाले मन्दिर, पार्क, माटो ग्राभेलका कामहरु पनि गरिहेको छ । आर्थिक वर्षको अन्तिम चरण चलिरहेकाले समयमै काम सक्नु पर्ने चटारो पनि रहेको छ । वडाध्यक्ष बर्माले आफूले अघि सारेका सबै योजनाका कामहरु समयमै सकिने बताउनुभयो ।