रिचेक नगरी घर पठाइदै, कस्तो आउँला पालिकाको निर्णय ?

नेपालगञ्ज – १४ दिन आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितलाई बाँकेमा पनि ‘रिचेक’ नगरी घर पठाउने तयारी भएको छ ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाले १४ दिन आइसोलेसन सेन्टरमा बसेका बिरामीमा कुनै लक्षण देखिएन भने जाँच नै नगरी घर पठाउन सकिने उल्लेख गरेको छ । यही निर्देशिकालाई टेकेर बाँके नरैनापुरका तीन जनालाई बेलझुण्डी अस्पतालले घर पठाइदिएको थियो । तर, स्थानीयको विरोध पछि स्थानीय प्रशासनले ती तीन जनालाई नेपालगञ्जको लायन्स डेन्टल आइसोलेसन सेन्टरमा ल्याएर राखेको छ ।
अब भने निर्देशिकालाई टेकेर अघि बढ्ने तयारी भएको हो । तर, स्थानीय तहले आफ्नो पालिकामा चेक नै नगरी बिरामीलाई घर पठाउँदिन भन्न सक्छन् । निर्देशिका अनुसार, १४ दिन बसेकालाई चेक नगरी घर पठाइदिने जानकारी सबै स्थानीय तहलाई दिइसकिएको छ । यसमा राप्तीसोनारी गाउँपालिकाले चेक नगरी बिरामीलाई पठाइदिन भनिसकेको छ । अरु पालिकामा यसबारेमा छलफल हुँदैछ निर्णय गरिसकेका छैनन् ।
कोरोना पोजिटिभलाई दोस्रो चेक नै नगरी घर पठाइदिंदा जनप्रतिनिधिले त्यसको मार खेप्नु पर्छ । स्वास्थ्य मन्त्रालयले १४ दिन बसेकालाई चेक नगरी पठाइदिन भनिसकेकाले अब स्थानीय तहका जनप्रतिनिधिले यसबारेमा सोच्नु पर्ने बेला आएको छ । ‘गाली खाने कि ताली’ जनप्रतिनिधिको निर्णयमा भर पर्छ ।
विश्व स्वास्थ्य संगठनले १४ दिन बसिसकेका बिरामीबाट कोरोना नसर्ने र उसमा भाइरस बृद्धि नहुने बताइसकेको छ । यही आधार मानेर मन्त्रालयले १४ दिन बस्दा लक्षण नदेखिएकाले रिचेक नै नगरी घर पठाइदिन थालेको छ । अब स्थानीय तहका जनप्रतिनिधिले कुनै निर्णय गरेनन् भने जिल्लामा शुरुवाती चरणमा कोरोना देखिएका (जो १४ दिन आइसोलेसन सेन्टरमा बसिसकेका छन्) सबैजना घर जानेछन् । रिचेक नगरी घर पठाउने कार्य एक÷दुई दिनमै हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !