सूचना प्रविधिमा जोड

खजुरा – खजुरा गाउँपालिका क्षेत्रभित्रका स्कूलहरुको प्रधानाध्यापकको वैठकले खजुरामा शैक्षिक गतिविधि अगाडि बढाउन सूचना र प्रविधिमा अधिकतम जोड दिने भएको छ ।
शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल ठकुरीका अनुसार, बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७५ मा टेकेर विद्यार्थीलाई ५ समूहमा विभाजन गरि उनीहरूलाई शिक्षण गराइने छ । सूचना र प्रविधिबाट टाढा रहेका, रेडियो एफएमको पहुँचमा रहेका, इन्टरनेट भएका, नभएका विद्यार्थीको विवरण संकलन गरि सोही अनुसार वैकल्पिक सिकाइ प्रदान गरिनेछ । त्यसका लागि एक हप्ताभित्रमा विद्यालय सेवा क्षेत्र अन्तर्गतका विद्यार्थीको तथ्यांक संकलन गर्न सम्बन्धित शिक्षकलाइ खटाइने छ ।
शिक्षा शाखा प्रमुख मल्लले नियमित अनुगमन गरिने, कुनै पनि पहुँचमा नभएकाहरुका लागि छपाई सामाग्री वितरण गरिने, संस्थागत विद्यालयका पाठयपुस्तक नपुगेकोले समन्वय गर्ने, होम कक्षा सहभागिता, शिक्षक स्वयंसेवक परिचालन गर्नुको साथै विद्यालय प्रशासन संचालनमा ल्याउने तयारी भएको बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले परिस्थितिजन्य अवस्थामा आधारभूत कुरा शिक्षा क्षेत्रलाई सम्भावना भएका सबै विकल्प प्रयोगमा ल्याएर अगाडि बढाउने बताउनुभयो । सामुदायिक, संस्थागत र मदरसाका प्रधानाध्यापक सहभागी बैठकमा खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओलीको उपस्थिति रहेको थियोे ।


error: यो सुविधा उपलब्ध छैन !