मासु पसललाई जरिवाना
नेपालगञ्ज – जिल्ला बजार अनुगमन टोलीले धम्बोझीको सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई जरिवाना गरेको छ ।
खाना अयोग्य २५ किलो मासु फ्रिजमा भेटिएपछि टोलीले सगरमाथालाई बीस हजार जरिवाना गरेको हो । फ्रिजमा राखिएको मासु रातो र कालो देखिन्थ्यो । प्राविधिकहरुले मरेको वा फ्रिजमा राख्दा बत्ती गएकाले मासु रातो, कालो भएको बताएका छन् ।
बाणिज्य कार्यालयको नेतृत्वमा निस्केको टोलीले धम्बोझी र वीपीचोक आसपासका मासु पसलको अनुगमन गरेको थियो । बजारमा मासुको मूल्य बृद्धि भएको जनगुनासो आएपछि टोली अनुगमनमा निस्केको थियो ।
बाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, भेटेनरी अस्पतालका भोजप्रसाद रावल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नेत्रा बोगटी, नेपालगञ्ज उपमहानगरपालिकाका विमल गुरुङ, उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतमलगायतको टोलीले मासु पसललाई मापदण्ड अनुसार सञ्चालन गर्न, तीन सय चालिस रुपैया भन्दा बढीमा मासु नबेच्न निर्देशन दिएको छ ।