बार अनुसार खुल्ने भए पसल
नेपालगञ्ज – जिल्ला प्रशासन कार्यालय, बाँकेले बार अनुसारको रुटिङ मिलाएर पसल खुल्ने व्यवस्था गरेको छ ।
सर्वदलीय, सर्वपक्षीय बैठकको बुझावलाई ध्यानमा दिदै प्रशासनले हरेक दिन ११ देखि तीन बजेसम्म फरक–फरक दिन फरक–फरक पसल खुल्ने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार, आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाडा पसल सञ्चालनमा आउने छन् । सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, चप्पल, कस्मेटिक, चश्मा, गरगहना पसल सञ्चालन हुनेछन् । मंगलबार र शुक्रबार अटो मोबाल्स, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसलहरु खुल्ला हुन्छन् । औषधी, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबिजन प्रत्येक दिन खुल्ने प्रशासनले जनाएको छ ।
प्रशासनले बैंकहरु सार्वजनिक बिदा बाहेक सबै दिन खुल्ला रहने, निर्माण कार्यमा संलग्न मजदुरहरुले साइकलबाट आवतजावत गर्ने, अत्यावश्यक कामका लागि बाहेक इरिक्सा, अटो र मोटरसाइकलको प्रयोगलाई नियन्त्रण गर्ने, अत्यावश्यक काममा घर बाहिर निस्किदा कोभिड १९ को संक्रमणबाट जोगिन कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम गर्ने तथा मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, कालोबजारी नियन्त्रण गर्न सम्बद्ध सबै निकायबाट बजार अनुगमन कार्यलाई तिब्रता दिने निर्णय गरेको छ ।
प्रशासनले अनुमति पत्र (पास) आवश्यक नपर्ने, प्रशासनको पास चाहिने वा सम्बन्धित निकायको पास चाहिने सवारी साधनको छनौट गरेको छ ।