वाह ! ओनिर तिम्रो मन
हेमन्तराज काफ्ले (नेपालगञ्ज) – नेपालगञ्जको सुर्जीगाउँमा शिवा नाम गरेका एकजना मिस्त्री छन् । भारत कलकत्ताका यिनी यतै विवाह गरेर ११ वर्षदेखि नेपालगञ्जमा बसिरहेका छन् ।
डकडाउनले गर्दा शिवाले काम पाएका छैनन् । दैनिक मजदुरी गरेर खाने उनी अहिले ठूलो समस्यामा परेका छन् । उनी मेरो घरमा आएका थिए । लकडाउनले साह्रै अप्ठेरो पारेको दुःखेसो पोेखिरहेका थिए, ‘आजभोली लकडाउनले गर्दा काम नगरेको दुई महिना जति भयो । कामै पाइदैन । निकै अप्ठ्यारो परिस्थितिमा छु । दैनिकी गुजारा गर्न धौ–धौ छ । कहिले १९ नम्बर वडा त कहिले नगरपालिका राहतको लागि धाए, कसैले केही दिएनन् ।’
उसले एकपटक हाम्रो घरमा पनि मिस्त्री काम गरेको थियो । त्यही चिनजानको नाताले काम पाइन्छ कि भनेर खोज्दै आएको थियो । कुरा हुँदै गर्दा शिवाले भन्नुभयो, ‘हिजो साँझ चामल सकियो आजबाट के खाने होला ?’
शिवाको दुःखभरी कहानी आठ बर्षको ओनिरको पनि कानमा प¥यो । उसले भित्र गएर आफ्नो खुत्रुके लिएर आयो र भन्यो, ‘बाबा यो खुत्रुके फोडेर म सहयोग गर्छु । मैले कार किन्ने भनेको थिए । ठूलो भएपछि किन्छु । अहिले म यो शिबालाई चामल किनेर दिन्छु ।’
शिवाको कुरा सुनेर आठ वर्षको ओनिरमा दया पलाएछ । उसले कार (खेलौना) किन्न भनेर खुत्रुकेमा जम्मा गरेको पैसा निकालेर दियो । खुत्रेके फोरियो । त्यसमा जम्मा भएको पैसाले शिवालाई २० किलो चामल किनेर दियो । बालकको दयादृष्टि देखेर हामीमात्रै होइन, शिवा नै दंग परे ।