उत्तरतिर बढ्दै कोरोना

नेपालगञ्ज – शुरुवाती दिनमा बाँकेको नेपालगञ्ज र नरैनापुरमा देखिएको कोरोना भाइरस अहिले आएर उत्तरीभेगमा बढ्न थालेको छ ।
नेपालगञ्ज र नरैनापुर दुवै भारतसँग सीमा जोडिएका क्षेत्र हुन् । सीमा जोडिएको ठाउँमा देखा परेको कोरोना अहिले उत्तरीभेगतिर बढ्दो क्रममा रहेको छ । नेपालगञ्ज र नरैनापुरका रैथानेले जतिबेला पनि प्रशासकको आँखा छलेर भित्रिन सक्ने अवस्था छ । शुरुवातमा नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना देखिदा उनी भारतबाटै आएका थिए । उनीबाट २५ जनामा पुग्योे । पछि फेरि देखिएर नेपालगञ्जमा ३० जना संक्रमित पुगेका छन् । यद्यपि, सबैजसो निको भइसकेका छन् ।
त्यसपछि अर्को सीमाना जोडिएको नरैनापुरले कोरोनाको कहर व्यहो¥यो । नरैनापुरमा त यस्तो अवस्था आयो कि गाउँपालिकाका प्रमुखले हात जोडेर सहयोग माग्नु प¥यो । नरैनापुरमा एक सय १६ जनामा कोरोना देखियो । एकजनाको मृत्यु भयो । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेर नेपाली सेनाको उपस्थिति गराएर नरैनापुरको अवस्था सुध्रिएको छ । गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद शाह यतिबेला अलि सहज महसुस गर्दैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नरैनापुरमा अहिले एक सय ५३ जना क्वारेन्टाइनमा बसिरहेका छन् । ७ सय ९ जना क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् ।
नेपालगञ्ज र नरैनापुरमा फाटफुट कोरोना देखिन त छोडेको छैन । तर, जिल्लाको उत्तरीभेगमा पर्ने राप्तीसोनारी गाउँपालिकामा चाप बढ्दै गएको छ । राप्तीसोनारी गाउँपालिकामा मंगलबार मात्रै १४ जना थपिएका छन् । राप्तीसोनारीको वडा नं. ७ मा १७, २४, १८, १६, ३५, २१, २६, २०, १८, ३६, ३९, १६ ३५ र ४५ वर्षका पुरुषमा कोरोना देखिएको हो । नरैनापुरको वडा नं. ६ मा २० र ४० वर्ष तथा खजुराको वडा नं. १ मा २२ वर्षको पुरुषमा पनि मंगलबार कोरोना पुष्टि भयो ।
बाँकेको राप्तीसोनारी उत्तरपूर्वी पालिका हो । भारतसँग सीमा नजोडिएपनि यहाँका संक्रमण देखिएका र क्वारेन्टाइनमा रहेका सबै भारतबाटै आएका हुन् । राप्तीसोनारीमा २६ जना संक्रमित पुगिसकेका छन् । संक्रमित हुनेमा एकजना वडाध्यक्षसमेत छन् ।
परीक्षणको दायरा बढाउदै गर्दा संक्रमणदर बढेको छ । बैजनाथ, जानकी गाउँपालिकामा अझै दु्रतगतिमा परीक्षण हुन सकेको छैन । परीक्षण नै नभएकाले भारतसँग सीमा जोडिएको जानकीमा अहिलेसम्म एकजना पनि कोरोना देखिएको छैन । पहिलो पटक स्वाव लिइएका १ सय ३१ जनाको रिपोर्ट आइसकेको छैन । अर्को दक्षिणी गाउँपालिका डुडुवामा संक्रमित देखा परिरहेका छन् ।
भारतले लकडाउनमा कडाई गर्दा नेपालीहरु भित्रिन नपाएकाले दक्षिणी सीमा जोडिएका ठाउँका मानिसहरु जसोतसो भित्रिदा उनीहरुमा कोरोना देखिएको थियो । भारतमा लकडाउन भएर नेपालीहरु धमाधम फर्किदा संक्रमण सबैतिर फैलिएको छ । ढिला संक्रमण देखिएको उत्तरपूर्वी गाउँपालिका राप्तीसोनारी जिल्लाको तेस्रो नम्बरमा आइपुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !