अब वाटरपार्कमा माछा र डुंगा
नेपालगञ्ज – नेपालगञ्जको वडा नं. १ मा रहेको वाटरपार्कमा माछापालनसँगै डुंगा सञ्चालन हुने भएको छ ।
वडा कार्यालयले नयाँ आर्थिक वर्षदेखि यी कामको सञ्चालनका लागि यतिबेला वाटरपार्कको सरसफाई धमाधम गरिरहेको छ । लकडाउनका बेलामा विपन्न मजदुरले त्यहाँ काम पाएका छन् । वाटरपार्कमा झार धेरै रहेकाले त्यसलाई फाल्ने काम भइरहेको छ ।
वडाध्यक्ष प्रमोद रिजालले वाटरपार्कमा अहिलेसम्म साढे चार सय जनाले रोजगारी पाइसकेको बताउनुभयो । दिनमा आठ घण्टा काम गर्ने गरी उनीहरुलाई दैनिक ६ सय रुपैया दिइएको छ । ‘पौडी खेल्न जान्ने केही मात्रै दोहोरिएका छन्, होइन भने नयाँ–नयाँ मान्छेलाई काम दिइएको छ, वडाध्यक्ष रिजालले भन्नुभयो, लकडाउनको बीचमा पनि आ–आफ्ना ठाउँका योजनाहरु सञ्चालन गर्ने र विपन्न वर्गलाई रोजगारी दिने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय अनुसार काम भइरहेको छ ।’
वडाले आगामी आर्थिक वर्षदेखि वाटरपार्कको ठेक्का दिने तयारी गरेको छ । वाटरपार्क नेपालगञ्जको पर्यटकीय गन्तब्य पनि हो । यसको सौन्दर्यकरणले नेपालगञ्जको ‘इज्जत’ बढाउँछ नै । वडाले अन्यत्रका योजनाहरुमा पनि काम गरिरहेको जनाएको छ । ‘वडा नं. १ मा ग्राभेल, पीसीसी ढलानका काम पनि भइरहेका छन्,’ वडाध्यक्ष रिजालले भन्नुभयो । उहाँले उपमहानगरपालिकाले नै वडाका योजनाका कामहरु सञ्चालन गरेर गरीव, विपन्नलाई रोजगारी दिने भनेकाले सबै वडाहरुमा यसप्रकारको काम भइरहेको एक नम्बरका वडाध्यक्ष एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता रिजालले जानकारी दिनुभयो ।