नरैनापुरको ‘विकल्प’ खोजिदै
नेपालगञ्ज – नरैनापुरमा कोरोना देखिएका ५९ जनालाई नेपालगञ्ज ल्याउनेबारेमा छलफल शुरु भएको छ ।
लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ‘आवश्यक पूर्वाधार’ नभएको भन्दै चर्को विरोध भएपछि ती बिरामीलाई नेपालगञ्ज ल्याउने कि भन्नेबारेमा छलफल शुरु गरेका छन् । एकथरीले नेपालगञ्जमा ल्याउनु पर्छ भन्ने लबिङ गरिरहदा अर्कोथरी जुन पालिकाको बिरामी हुन् त्यही व्यवस्थापन गर्नुपर्छ भन्ने अडानमा छन् ।
कोरोनाका बिरामीलाई आवश्यक पूर्वाधारसहितको आइसोलेसन अस्पतालमा राख्नु पर्छ । लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा न्यूनतम पूर्वाधार पनि छैन । भेन्टिलेटर, आइसीयू त परको कुरा भयो, बत्ती, पानीकै समस्या छ । आधारभूत पूर्वाधार नै छैन ।
नेपालगञ्ज ल्याएपनि कहाँ राख्ने ? चर्चा यो कोणबाट पनि भइरहेको छ । अधिकारीहरुको बीचमा नरैनापुरका ५९ जना बिरामीलाई कहाँ आइसोलेसन बनाएर राख्ने र नरैनापुरलाई सील गरिएकाले त्यसको कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा केन्द्रित रहेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले ५९ जनालाई कहाँ राख्ने भन्नेबारेमा छलफल शुरु भएको बताउनुभयो । ‘अहिले बिरामी देखिएका ५९ जनालाई कहाँ राख्ने भन्नेमा छलफल भइरहेको छ, सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भन्नुभयो, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि व्यवस्थित गर्छौ । आवश्यक पूर्वाधार जोड्छौं । त्यहाँ पनि राख्नु पर्ने हुन सक्छ ।’
स्थानीय प्रशासनले नरैनापुरलाई सील गरेको छ । पारी भारततिर धेरै युवाहरु रहेका छन् । उनीहरु जतिबेला पनि नेपाल प्रवेश गर्न सक्छन् । सुरक्षाकर्मीको निगरानी जरुरी छ । जनशक्ति अभाव त छदैछ । यस्तोमा पहाडतिरका सुरक्षाकर्मीलाई तराईमा झार्नु पर्ने कोणबाट पनि छलफल भएको छ । यो सुरक्षाकर्मीमात्रै होइन, स्वास्थ्यकर्मीको हकमा पनि लागु हुन सक्छ ।