जमुनाहामा ‘सेनिटाइज’
नेपालगञ्ज – नेपालगञ्ज नाका जमुनाहा आसपासमा सेनिटाइज गरिएको छ ।
भारतबाट ल्याइएका र पठाइएका गरी दुई हजार बढी मानिसको नाकामा मुभमेन्ट भएकाले नेपालगञ्ज उपमहानगरपालिकाले आज शनिबार नाका आसपासमा सेनिटाइज गरेको हो । भारतका विभिन्न क्वारेन्टाइनमा रहेका ६ सय ८० बढीलाई नेपाल ल्याउदा बाँकेका विभिन्न ठाउँमा रहेका एक हजार चार सय ८३ जना भारतीयलाई घर पठाउदा नाकामा दुई दिन रोकिएका थिए । नेपाल भित्रिएका व्यक्तिको लगत लिने, आरडीटी टेष्ट गर्दा दुई दिन नाकामा रोकिएका थिए । दुई दिन बस्दा उनीहरु बसेको ठाउँ र आसपासमा सेनिटाइज गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले दुई हजार बढी मानिसको दुई दिनसम्म नाकामा रहेकाले सेटिनाइज गरिएको बताउनुभयो । ‘दुई दिनसम्म नाकामा रोकिदा ¥याल, थुक, खकार फालेका हुन सक्छन्, स्वास्थ्य शाखा प्रमुख चन्दले भन्नुभयो, सेटिनाइज गरेर भाइरस मार्ने काम गरेका हौं ।’
स्थानीय प्रशासनले भारतीय क्वारेन्टाइनबाट ल्याएका र नेपालबाट भारत जान थालेकाहरु छोटी भन्सार परिसर र आसपासमा बसेका थिए । नाकामा समेत आवतजावत भएकाले सबै क्षेत्रमा सेनिटाइज गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले भारतबाट अत्यावश्यक सामाग्री लिएर आउने मालवाहक गाडीलाई पनि सेनिटाइज गर्ने गर्दछ ।