संक्रमितलाई खजुरा लगियो
नेपालगञ्ज – आइतबार कोरोना संक्रमण देखिएका १५ जनालाई खजुरास्थित आइसोलेसन कक्षमा लगिएको छ ।
प्रहरी, स्थानीय अगुवाले घण्टौसम्म सम्झाएपछि संक्रमितहरु आइसोलेसन कक्षमा जान तयार भएका हुन् । नेकपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व उपमेयर समसुद्दिन सिद्धिकीलगायतले संक्रमितलाई आइसोलेसन कक्षमा जान सम्झाएका थिए । यसअघि संक्रमण देखिएका ६० वर्षका मदरसाका शिक्षकलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ ।
प्रदेश सरकारले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेसन कक्ष बनाएको हो । नेपालगञ्जमा संक्रमित देखिएका १६ जनालाई त्यहाँ पु¥याइएको छ ।
६० वर्षका व्यक्तिमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका ९० जना व्यक्तिको स्वाव परीक्षण गरिएको थियो । त्यसमध्येमा ५५ जनाको रिपोर्ट आउदा १५ जनामा कोरोना देखिएको छ । अझै ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
आइतबार थप चार जनाको स्वाव लिइएको छ । नेपालगञ्जका पहिलो संक्रमित व्यक्तिको सम्पर्कमा रहेका चार जनाको स्वाव लिइएको हो । ६० वर्षका ती व्यक्तिले पढाएका चार जना विद्यार्थीको स्वाव लिइएको स्वास्थ्यकर्मीले बताएका छन् । उनको सम्पर्कमा रहेका अरुको पनि खोजी भइरहेको छ ।
अहिले देखिएका संक्रमितहरु सबैजसो वडा नं. ८ को जुलाहनपुरुवाका हुन् । यो टोललाई सुरक्षाकर्मीले सील गरेका छन् ।