समावेशी प्यानलको सचिवालय स्थापना

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावलाई मध्यनजर गरेर समावेशी प्यानलले सचिवालय स्थापना गरेको छ ।
न्यूरोडमा स्थापना गरिएको सचिवालयको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व सदस्य दामोदर आचार्यले उद्घाटन गर्नुभयो । सचिवालयको उद्घाटन गर्दै महासंघका पूर्व केन्द्रीय सदस्य आचार्यले व्यवसायिक हकहितका लागि समावेशी प्यानलले विगतदेखि नै काम गर्दै आएको बताउनुभयो । उहाँले समावेशी प्यानल व्यवसायिक हकहित र सबैको विचारलाई समेटेर अघि बढ्ने टीम भएको बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्य श्रेष्ठले एकै एक ढिक्का भएर समावेशी प्यानललाई जिताउनु पर्नेमा जोड दिनुभयो ।
सचिवालय उद्घाटनमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना), उपाध्यक्ष दुर्गा भण्डारी, पूर्वमहासचिव अशोक कर्माचार्य, मधुसुदन शर्मा, सेम शाक्यलगायतको उपस्थिति रहेको थियो ।
समावेशी प्यानलले माघ १ गते टीमको घोषणा गर्ने तयारी गरेको छ । यो प्यानलले वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) को नेतृत्वमा अघि बढ्ने तयारी गरेको छ ।
माघ ११ गते हुने संघको चुनावी माहौल बिस्तारै तातिदै गएको छ । कांग्रेस र राप्रपानिकट व्यवसायीले साझा प्यानलको नाममा ललित रौनियारलाई अघि सारेका छन् । संघमा विगतमा तीन वटा प्यानल बन्ने गर्दथ्यो । एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेपछि पहिलो पटक दुई वटा प्यानलका बीचमा प्रतिस्पर्धा हुने लक्षण देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !