त्रिसिद्देश्वरी यातायातका गाडी भारत जान नपाउने

नेपालगञ्ज – त्रिसिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले कानूनी प्रक्रिया पूरा नगरी भारतमा गाडी चलाएको ठहर भएको छ ।
नेपालगञ्जका यातायात र होटल व्यवसायीले चर्को विरोध गरेर गाडी रोकेपछि त्रिसिद्देश्वरीले गाडी चलाउन पाउनु पर्ने भन्दै दायर गरेको रीटमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आइतबार अन्तरिक आदेश जारी गरेन । अदालतले अन्तरिम आदेश जारी नगरेपछि अब त्रिसिद्देश्वरीले भारतमा गाडी चलाउन नपाउने भएको हो ।
अदालतका न्यायाधीशद्वय पवनकुमार शर्मा न्यौपाने र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नगरेपछि प्रालिका गाडी रोकिने भएका हुन् । प्रालिले लामो समयदेखि दाङदेखि दिल्ली, दाङदेखि सीमलासम्म गाडी चलाउदै आएको थियो । यसको विरोधमा नेपालगञ्जका यातायात व्यवसायी र होटल व्यवसायी सडकमै आएका थिए ।
यहाँका यातायात व्यवसायी र होटल व्यवसायीको चर्को विरोध पछि प्रहरीले त्रिसिद्देश्वरीका गाडीलाई भारत जानबाट रोकेको थियो । पुस ६ गते अदालतले १३ गतेसम्म गाडी चल्न दिने गरी आवधिक अन्तरिम आदेश जारी गरेको थियो । आइतबार दुई पक्षीय छलफलपछि अदालतले आवधिक अन्तरिम आदेशलाई निरन्तरता दिएन ।
त्रिसिद्देश्वरीले ‘टुरिष्ट’ अधिकार ल्याएर टिकट काटेर गाडी चलाइरहेको थियो । जबकी दाङबाट भारतीय शहरमा गाडी चल्ने रुट परपिट नै छैन । नेपालगञ्ज रुटबाट भेरी यातायात समितिले दिल्ली गाडी चलाउने गर्दछ ।
सिद्देश्वरीको गाडीलाई असोजमै यहाँका होटल व्यवसायी र यातायात समितिले रोकेको थियो । त्यतिबेला दशैं तिहारका बेलामा नेपालीलाई सहज हुने भन्दै प्रदेश कानुन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, बाँकेमा पत्र पठाएर गाडी नरोक्न निर्देशन दिएको थियो । यसपछि पनि गाडीले निरन्तरता पाएपछि यहाँका यातायात व्यवसायी र होटल व्यवसायीको चर्को विरोधले गर्दा प्रहरीले गाडी रोकेको थियो । अब भने अदालतले नै प्रक्रिया पूरा नभएको भनेपछि सिद्देश्वरीको गाडी नेपालगञ्ज रुट भएर भारत जान नपाउने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !