रहेनन् क्रान्तिका साछी, ‘श्याम दाइ’
नेपालगञ्ज – २००७ सालका क्रान्तिका कमाण्डर एवं पूर्व एसपी श्यामबहादुर तामाङको निधन भएको छ । ९० वर्षको उमेरमा तामाङको गएराती निधन भएको हो ।
तामाङ हाइस्कूल पढ्दा पढ्दै क्रान्तिमा लाग्नु भएको थियो । भारतको खारसाङमा पढ्न बस्दा त्यहाँ गणेशमान सिंह, पुष्पलाल श्रेष्ठहरु क्रान्तिको कुरा गर्न पुग्नु हुन्थ्यो । निर्मल लामासँग साथ रहेका तामाङ नेताहरुको कुरा सुन्दासुन्दै क्रान्तिकारी हुनुभयो ।
पछि २००७ सालको क्रान्तिभरी नै उहाँ जनमुक्ति सेनाका कमाण्डर पुरन सिंह र जीवी याक्थुम्बाको निकट रहेर काम गर्नुभयो । १६ जुलाई १९४८ सालमा जनमुक्ति सेना गठन हुँदादेखि नै तामाङ सक्रियपूर्वक लाग्नु भएको थियो ।
नेपाली कांगे्रसको सन् १९५० सेप्टेम्बर २६ र २७ गते बैरगनियामा भएको महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सर्वोच्च कमाण्डर तोक्दै क्रान्ति गर्ने निर्णय ग¥यो । त्यही निर्णय अनुसार, २००७ साल कात्तिक २६ गते (११ नेभेम्बर १९५०) राती ११ बजे भाइटीकाका दिन जनमुक्ति सेनाले एकैपटक वीरगञ्ज, विराटनगर र भैरहवा आक्रमण गरेको थियो । त्यो फौजी आक्रमणमा तामाङ शुरुमा वीरगञ्ज खटिनु भएको थियो । त्यतिबेला वीरगञ्ज सामरिक महत्वकै शहरमा गनिन्थ्यो । सुवर्णशमशेरका भान्जा थीरबम मल्लको एउटा टोली र तामाङसहितको कमाण्डर पुरनसिंह र याक्थुम्बाको अर्को टोलीले वीरगञ्जमा आक्रमण गरेको थियो । वीरगञ्ज कब्जा गरेपछि तामाङ विराटनगर कब्जामा सरिक हुनुभयो ।
दिल्लीमा राजा, राणा र नेपाली कांग्रेसका बीचमा त्रिपक्षीय सम्झौता भएपछि (भारतको डिजाइनमा) २००७ साल फाल्गुन ४ गते राजपरिवार, नेपाली कांग्रेसका नेताहरु नेपाल फर्किएका थिए । राजा र कांग्रेसका नेताहरुलाई सुरक्षा दिदै तामाङसहितको टोली नेपाल आएको थियो ।
२००७ साल फाल्गुन २८ गते जनमुक्ति सेनालाई रक्षा दलमा परिणत गरियो । तामाङ रक्षा दलको क्याप्टेन हुनुभयो । २०१२ सालमा रक्षा दललाई प्रहरी बनाइयो । तामाङ डीएसपी हुनुभयो । २०१५ सालमा तामाङको नेपालगञ्ज सरुवा भयो । तामाङ आउनु अघिसम्म नेपालगञ्जलाई प्रहरी निरीक्षकले हेर्थे । तामाङ नेपालगञ्जको पहिलो डीएसपीसमेत हुन् । २०१९ सालमा एसपीमा बढुवा भएपछि तामाङ विराटनगर पुग्नुभयो । धरान हुँदै २०२७ सालमा एसपीबाट रिटायर्ड हुनुभयो ।
दोलखाको मकैबारीबाट काम खोज्दै तामाङका बराजु दार्लिलिङ पुग्नु भएको थियो । अंग्रेजले सन् १८२४ देखि १८३४ सम्म दार्जिलिङमा एक सय ३६ वटा चियाबगान बनाएपछि दोलखाका धेरै तामाङहरु काम खोज्दै त्यहाँ पुगेका थिए । यसरी भारतमा पुगेका आफ्ना परिवारलाई तामाङले डीएसपी भएपछि नेपाल फर्काउनु भएको थियो । तामाङका परिवार शुरुमा विराटनगरमा घर बनाएर बसेका थिए । पछि नेपालगञ्जमा डीएसपी भएर आएपछि श्रीमतीले नेपालगञ्ज मन पराएकाले कारकादोमा बस्न थाल्नु भएको थियो । तामाङको तीन छोरा र दुई छोरी छन् ।