अब भेरीमै कोरोनाको जाँच, स्याम्पल लिन शुरु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ‘पीसीआर’ जाँचको स्याम्पल लिन शुरु गरिएको छ । आइतबारदेखि दु्रतगतिमा काम हुने अस्पतालका मेसु डा. प्रकाश थापाले जानकारी दिनुभयो ।
लगातारको प्रयास पछि शनिबार मेसिन जडान र सञ्चालनमै ल्याइएको हो । विज्ञ सुलभ आचार्यको उपस्थितिमा ल्याबको ‘परीक्षण’ नै गरिसकिएको छ । दुई जनाको परीक्षण गरिएको थियो ।
भेरीमा ल्याब सञ्चालनमा आएसँगै बाँके र बर्दियाका कोरोना आशंकित बिरामीको अब यही परीक्षण हुने भएको छ । दिनमा दुई सिफ्ट सञ्चालन गर्ने तयारी भएको छ । दुई सिफ्ट जाँच गर्दा सय जनाको स्याम्पल जाँच गर्न सकिने मेसु डा. थापाले बताउनुभयो ।
भेरी अस्पताल, मेडिकल कलेज कोहलपुर र नेपालगञ्जको आइसोलेसनमा राखिएका बिरामीको स्याम्पल शुरुमा काठमाडौं र पछि रुपन्देही पठाउने गरिएको थियो । बाँकेबाट अहिलेसम्म ८७ जनाको पीसीआर रिजल्ट नेगेटिभ आइसकेको छ भने १३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
अब बाँके र बर्दियाका अस्पतालले भेरीमा पीसीआरको स्पाम्यप पठाउन सक्छन् । मेसु डा. थापाले स्वाव निकाल्ने काम नगरिने, स्याम्पलमात्रै लिने जानकारी दिनुभयो ।