अन्य संक्रमणको जोखिम

 

नेपालगञ्ज – ‘सरकार ! कस्तो सरकार ? कहाँ छ सरकार ? हामीलाई थाहा भएन । कसको सरकार हो, कसका लागि हो सरकार’, काठमाडौंबाट पैदलयात्रामा निस्केकी एक सुत्केरी महिला आक्रोश पोख्दै थिइन् । यस्तो आक्रोश अहिले उनको मात्रै होइन, भोकमरीको समस्या भएपछि काठमाडौंलगायतका शहरबाट घर जान हिडेका मजदुर, विपन्न परिवारको जनबोली भएको छ ।
आठ महिनाको गर्भवतीदेखि दूधे बालक, जेष्ठ नागरिक, फरक शारीरिक क्षमता भएका मानिस आफूसँग भएको पैसा, खानेकुरा सकिएपछि भोकै, प्यासै सडकमा हिडिरहेका छन् । कति खाली खुट्टामै छन् । कसैको जुत्ता च्यातिएको छ, चप्पल चुडिएको छ ।
उनीहरुसँग यसरी हिड्नुको विकल्प नै थिएन । गर्भवती, सुत्केरीको आधारभूत आवश्यकताको कुरा त परको भयो । उल्टै भोकभोकै हिड्नु छ, खुला आकाशमुनी बाटोमा बास बस्नु छ । यिनको पीडा कसले बुझ्ने ?
अर्कोतर्फ भारतका बिभिन्न स्थानबाट मजदुरी गरि आफ्नो देश आउन लागेका हजारौ नागरिकहरु सीमा रोकिएका छन् । जहाँसुकै भएपनि गरीव एवं दैनिक ज्यालादारीमा काम गरी जीवन चलाउनेहरु समस्यामा छन् ।
दुःख पीडासहित यात्रामा रहेका मानिस, भारत एवं नेपाल भारत सीमानामा रोकिएका, देश भित्रै आ–आफ्नै स्थानमा दैनिक ज्याला मजुरी गरेर जीवनयापन गर्नेहरुमा परेको मानसिक तनाव र मानसिक तनावकै कारण उत्पन्न हुने स्वास्थ्य एवं शारीरिक कमजोरीका कारण अन्य संक्रमणको जोखिम बढेको छ ।
भेरी अस्पताल, नेपालगञ्जका बरिष्ठ फिजिसिएन डा.संकेत रिसाल भन्नु हुन्छ, ‘लामो बाटो हिड्दा ठाउँ अनुसार मौसम फरक–फरक हुने, थकान हुने, उचित पानी र खानेकुरा नपाउँदा शरीरमा पानी र खानाको मात्रा कम हुने, बाटो घाटोमा ट्वाइलेटको व्यवस्था सरसरफाइको लागि सफा पानी समेतको अभाव हुने हुँदा यस्तोमा अन्य रोगहरुको संक्रमण हुने जोखिम हुन्छ । सुत्केरी, गर्भवती, बालबालिका र जेष्ठ नागरिक झन् संक्रमणको जोखिममा हुन्छन् ।’
डा. रिसाल खानपिन, आराम, उचित सरसफाईसमेतको अभावमा मानिस मानसिक तनावमा आउने र शारीरिक अवस्था कमजोर हुने हुँदा संक्रमणको जोखिम हुने बताउनुहुन्छ ।
भोकभोकै हिडिरहेका, भारत र नेपाल भारत सीमानामा रोकिएका मानिसको सुरक्षित वातावरण सहित उचित व्यवस्थापन गर्नु सरकारको प्रमुख दायित्व हो । सर्वोच्च अदालत समेतले सरकारका नाममा आदेश जारी गर्दै सीमा नाका समेतमा अलपत्र अवस्थामा रहेका नागरिकलाई देश भित्रै सुरक्षित व्यवस्थापनका लागि समेत भनेको छ । उतm आदेशको समेत कार्यान्वयन नहुनु दुःखद हो ।
यद्यपि, हाल कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको जानकारीमूलक सूचना, प्रचार प्रसार, लकडाउन लगायतका काम राम्रा रहेका छन् । लकडाउन लगायतका निर्णयको कार्यान्वयनका लागि अहोरात्र खट्ने नेपाल प्रहरी, उपचारमा संलग्न स्वस्थ्यकर्मी र जनतालाई सुसूचित गर्न क्रियाशील सञ्चारकर्मी समेतको कार्य प्रशंसनीय छ ।


error: यो सुविधा उपलब्ध छैन !