खाली हुँदै ‘क्वारेन्टाइन’

नेपालगञ्ज – कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु १४ दिन पूरा गर्दै घरतिर हिडेपछि क्वारेन्टाइन खाली हुँदै गएको छ ।
स्थानीय पालिकाहरुले स्वास्थ्य कार्यालय, बाँकेको समन्वयमा क्वारेन्टाइनमा १४ दिन बिताएकाको ‘आरडीटी’ टेष्ट गर्दै नेगेटिभ देखिएकाहरुलाई घर पठाएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकसपर्सन नरेश श्रेष्ठले क्वारेन्टाइनमा बसेका १ सय ५४ जना घर फिर्ता गएको जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेकाहरु घर गएपछि क्वारेन्टाइन खाली भएका हुन् । अधिकृत श्रेष्ठका अनुसार, राप्तीसोनारीको खैरेनी आश्रममा बनाइएको क्वारेन्टाइनबाट १५ जना घर गएका छन् । नरैनापुरको भोजभगवानपुरस्थित जय किसान माविको क्वारेन्टाइनबाट १ सय ३४ जना घर गइसकेका छन् । खजुराबाट ३ र जानकीबाट २ जना घर गइसकेका छन् ।
भारत तथा तेस्रो मुलुकबाट हालसालै फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र उनीहरुको जाँच गर्दा नेगेटिभ आएमा घर पठाइदिने नीति लिइएको छ । सोही अनुसार पालिकाहरुले बनाएका क्वारेन्टाइनमा बसेकाहरु घरतिर हिडेपछि क्वारेन्टाइन खाली भएका छन् ।
शुरुवातमा पालिकाहरुलाई क्वारेन्टाइन बनाउन साह्रै सकस भएको थियो । क्वारेन्टाइन बनाउनै पर्ने अनिवार्यताले गर्दा कतिले ढिलो गरी बनाएका थिए ।
बाँकेमा अब ३ सय ४३ जना क्वारेन्टाइनमा छन् । त्यसमा ४६ महिला छन् । १४ दिन पुगेपछि उनीहरुको पनि टेष्ट गरेर घर पठाइने छ । जिल्लाबाट अहिलेसम्म ७६ वटा स्याम्पल जाँचका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !