महिला क्रिकेटको उदय
क्रमशः
सहज सिकाइका लागि नै हामीले सफ्ट बल पय्रोग गरेका थियौँ । क्रिकेटका नियमबारे पनि धेरै केही भनेनौं । बलिङ–ब्याटिङ सिके नियम आफैं बुझ्दै जान्छन् भन्ने लागेको थियो । त्यसैले पहिलो चरणमा क्रिकेटप्रति किशोरीहरूको ध्यान खिच्नु र प्रतिभा छान्नु हाम्रो उद्देश्य थियो । त्यसैले हामीले ब्याट समात्ने र बल फाल्ने तरिका, स्टम्प, विकेट, रन, वाइड, चौका, छक्काजस्ता सामान्य कुराबाट क्रिकेट सिकायौं । जति बुझ्दै गए, किशोरीहरूमा उत्साह, चासो र लगाव देखिन थाल्यो । त्यसै पनि महिला क्रिकेट नौलो थियो । किशोरीहरूको आकर्षण, अभ्यास र प्रगति देखेर हामी दङ्ग थियौं, फुरुङ्ग भयौं ।
मैदान हुने स्कुलमै गएर र नहुने विद्यालयलाई पायक पर्ने नजिकको मैदानमा क्रिकेट प्रशिक्षण दिइयो । नयाँ काममा हात हालेपछि जोखिम र चुनौती जति हुन्छन्, अवसर र सम्भावना त्यसभन्दा धेरै हुने म ठान्छु । अनेक कोणबाट आउने आलोचना र प्रशंसालाई ख्याल गर्दै हामी अघि बढ्यौं । किशोरीहरूले ब्याट समातेको देख्दा गरिने खिसीट्युउरी त उनीहरू आफैंले राम्रोे नतिजाबाट निस्तेज पारिसकेका थिए । प्रशिक्षणका दौरान जति विद्यालयमा पुग्यौं, त्यहाँका प्रधानाध्यापक र खेल शिक्षकका सोचमा पूरै परिवर्तन आएको पायौं । अधिकांश भन्थे, ‘एलबीजी ! यति छिटो यी नानीहरू क्रिकेटर बन्लान् भनेर सोचेकै थिएनौं । गज्जबै काम सुरु गर्नुभयो ।’
बिस्तारै किशोरीहरूमा क्रिकेटको नशा चढ्न थाल्यो । क्रिकेट हो नै त्यस्तो नशा, मैदान छिरेपछि हत्तपत्त कोही रित्तो हात फर्किंदैन । हाम्रो आग्रह टार्न नसकेर मैदान आएका किशोरीहरू बिस्तारै स्वतः स्फूर्त ब्याट र बलका साथी भइरहेका थिए । पहिलो चरणमा ३३ स्कुलका झन्डै एक हजार किशोरीले क्रिकेटको सामान्य ज्ञान हासिल गरे, बल र ब्याट समाए । क्रिकेटमा एकैसाथ यतिधेरै किशोरीको प्रवेशले बाँकेलाई क्रिकेटमय बनाइदिएको थियो । त्यो सम्झिँदा अझै पनि मलाई गर्व लाग्छ, मन रोमाञ्चित हुन्छ । महिला क्रिकेट खेल्न अनकनाएका सगरमाथा ज्ञानकुञ्ज माविका प्रधानाध्यापक दीपक मल्लले पछि एक दिन फोन गरेर भनेका थिए, ‘एलबीजी ! प्रतियोगिता कहिले हुन्छ ? हाम्रो स्कुलका नानीहरूले सोधेर हैरान पारिसके ।’ उनको यो फोनले मलाई थप ऊर्जा मिल्यो ।
सामुदायिक विद्यालयमा क्रिकेटको आकर्षण बढेको थियो । उनीहरू अर्को चरणको प्रशिक्षणका लागि आमन्त्रण गरिरहन्थे । जिल्ला शिक्षा अधिकारी विष्णु थैव पनि प्रशिक्षण अवधि बढाउन पाए हुन्थ्यो भनिरहन्थे । तर, हामी प्रशिक्षण बढाउन सक्ने अवस्थामा थिएनौं । सीमित साधनस्रोत र जनशक्तिबाट त्यो अभियान चलेको थियो । खेल शिक्षकका लागि पनि एकदिने तालिम दिइएको थियो । त्यो तालिममा कतिपय शिक्षकले मन नलगाएको मैले महसुस गरें । केही शिक्षकले स्कुलको काम छल्न तालिममा आएको व्यवहार देखाए । १० प्रतिशतजति मात्र क्रिकेट बुझेका थिए । एकदिने क्रिकेट वर्कसपपछि केही शिक्षकले मात्र स्कुल फर्केर तालिम दिएको पायाँं । त्यसले पनि सन्तोष दिलायो ।
प्रशिक्षणपछि किशोरीहरूको क्रिकेट रुचि यति बढेको थियो कि गाउघँरमा निस्कदा पनि हातमा बल र ब्याट हुन्थ्यो । त्यो देखेर आमाबुबा चकित पर्थे । स्कुलका प्रधानाध्यापकहरू भन्थे, ‘अचेल त केटीहरू बल र ब्याटबाहेक कुरै गर्दैनन् ।’
केही महिनाअघिसम्म क्रिकेट केटीको खेल होइन भनेजस्तै थियो । बालुवामा पानी हालेजस्तो हो भनेर टिप्पणीहरू पनि आए । तर, एकाएक महिला क्रिकेट स्थापित भइसकेको थियो । त्यसको ठूलो जस मिडियालाई जान्छ । कान्तिपुरले सबैभन्दा पहिले २०६१ माघ २० गते पहिलो पृष्ठमै महिला क्रिकेटको समाचार प्रकाशित गरेको थियो । मलाई सम्झना छ, कान्तिपुर संवाददाता जनक नेपाल र वेदप्रकाश तिमिल्सिना माघे झरीमा भिज्दै कोहलपुर आएर त्यो रिपोर्टिङ गरेका थिए । त्यसबेला जनकजीले भनेको मलाई अझै सम्झना छ, ‘सुरु गरेर मात्र हुन्न, नतिजा निस्किनुपर्छ । तपाईहरू सफल हुनुपर्छ है, एलबीजी !’ माघ २१ गते कान्तिपुरमा महिला क्रिकेटबारे सम्पादकीय प्रकाशित भयो । बिस्तारै अरू पत्रपत्रिकामा पनि समाचार आउन थाले । ती समाचारले हामीलाई ऊर्जा थपिरहे ।
सुरुका दिनमा कतिपय अभिभावकमा खेलमा लागेर छोरी बिग्रिने हुन् कि भन्ने चिन्ता देखिन्थ्यो । केही त अभिभावकको इच्छाविपरीत पनि मैदानमा आएका थिए । तीमध्ये केही राम्रो सम्भावना हुँदा हुँदै घरपरिवारको अनुमति नपाएर धेरै दिन मैदानमा अडिन पाएनन् ।
छोरी पनि छोरासरह क्रिकेट खेल्न सक्छन् भन्ने नपत्याउनेकै बोलबाला थियो । ‘हे, के खेल्लान् यिनीहरू ! रहर गरेर मात्र हुन्छ ?’ केहीले त मेरै अघिल्तिर नाक खुम्च्याउँदै भने पनि ।
चोट पो लाग्ने हो कि ! पढ्न छोडेर तीन–चार घन्टा क्रिकेट भन्दै दौडेर केटीहरू बिग्रिने भए भन्नेजस्ता अनेक टिप्पणी हामी सुन्थ्यौं । एकपछि अर्को त्यस्ता टिप्पणी गलत साबित हुँदै गए । र, हामी सफलताको नजिक पुग्यौं । हामी सफल हुनुको सबैभन्दा ठूलो अस्त्र भनेकै हाम्रो नारा थियो, समताका लागि क्रिकेट । यही नाराले नेपालमा महिला क्रिकेटको एउटा ऐतिहासिक सुरुआत गर्न सकिएकामा आज पनि मलाई सन्तोष लाग्छ ।
केही अभिभावक भने छोरीको खेल हेर्न मैदानमै आउँथे । त्यसरी मैदानमै आएर छोरीलाई हौसला दिनेमा चर्चित क्रिकेटरहरू नेरी थापा, ममता थापा, मनीषा रावलका बुबाहरू पनि पर्थे । नेरीका बुबा लिलु थापा आफैं बक्सिङका प्रशिक्षक थिए । ममताका बुबा भारतीय सेनाका रिटायर्ड हुन् भने मनीषाका बुबा शिक्षक । उनीहरू दुई कारणले मैदानमा पुग्थे । पहिलो, छोरीको खेल अभ्यास र प्रगति । दोस्रो, छोरीको सुरक्षा । जब छोरीहरूले राम्रो खेल्न थाले, अभिभावकको मैदानमा उपस्थिति पनि घट्दै गयो । छोरीले खेल्न सक्छन् भन्ने भरोसा पलाएको पनि हुन सक्छ ।
महिला सशक्तीकरणका लागि क्रिकेट आफैंमा एउटा फरक अभियान थियो । समता र सशक्तीकरण मात्र होइन, खेलकुदमा बच्चाहरू रमाए भने त्यसको प्रतिफल शैक्षिक स्तरमा पनि देखिन्छ । म स्वयं शिक्षण पेसामा थिएँ, त्यसैले म खेलकुद र शिक्षाबीचको सम्बन्धका बारे जानकार थिएँ ।
महिला क्रिकेटको परिकल्पना साकार हुँदै जाँदा ०६१ माघ ४ गते पहिलो पत्रकार सम्मेलन गरेर हामीले अभियान सार्वजनिक ग¥यौं । पत्रकारको जिज्ञासा पनि उही थियो, ‘महिला क्रिकेट सम्भव होला त ?’ प्रशिक्षण नसकिँदासम्म मैले यस्ता सयौँ प्रश्नको जवाफ दिनुप¥यो । त्यतिबेला बाँके मानवीय सूचकाङ्कमा ५०औँ नम्बरमा थियो तर खेलकुदमा भने सधैं उर्वरभूमि रह्यो । त्यो प्रेरणाले पनि अघि बढ्न हामीलाई मद्दत पु¥यायो । नेपालगन्जले तीन जना ओलम्पियन जन्माइसकेको थियो । भारोत्तोलन र सुटिङमा वर्चस्व थियो । भारोत्तोलनका ओलम्पिन सुरेन्द्र हमाल दाइ सधैं यहाँका खेलाडीहरूका लागि प्रेरणाका स्रोत रहिरहे । हाल उनी प्रदेशसभामा निर्वाचित सदस्य छन् । ब्याडमिन्टनले सुदीप योञ्जनजस्तो राष्ट्रिय च्याम्पियन जन्मायो । हक्कीका राष्ट्रिय क्याप्टेनका रूपमा विजयन्त शर्माले अलग पहिचान पाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीको सूची लामै छ । पार्वती थापा ओलम्पिक जादाँ नेपाली समाज धेरै पछाडि थियो । तर, महिला क्रिकेट सुरु गर्दा प्रश्नहरू बाँकी नै रहेछन् भन्ने लाग्यो ।
म आफैँ पनि क्रिकेटको राष्ट्रिय क्याप्टेनको भूमिका निर्वाह गरिसकेको व्यक्ति थिए । नेपालगन्जले राष्ट्रिय एरिनामा अलग पहिचान बनाएको थियो । खेलकुदमा समृद्ध इतिहास बोकेको नेपालगन्जमा महिला क्रिकेटको सपना देख्नु पक्कै अन्यथा थिएन । तर, हामीले असाध्यै धेरै प्रश्नको सामना गर्नुप¥यो ।
क्रमशः
(एलबी क्षेत्री नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पहिलो एसीसी ट्रफी (मलेसिया) मा टिम उपकप्तान रहेका उनले दोस्रो एसीसी (काठमाडौं) को कप्तानी सम्हाले । भारतीय शहर कोलकाताबाट क्रिकेट शुरु गरेर ए डिभिजन खेलेका क्षेत्री नेपाल आएर क्लवस्तरीय प्रतियोगिता खेल्दै १९९८ मा राष्ट्रिय टिमको कप्तान भए । उनकै नेतृत्वमा नेपालमा महिला क्रिकेटको उदय भयो । कप्तान १९९८ पुस्तकमा क्षेत्रीले अति राजनीतिले दिशाविहीन बन्न पुगेको नेपाली क्रिकेट, आफ्नो खेल जीवनका अनुभव, संघर्ष र भोगाईलाई उतारेका छन् । क्रिकेट बुझ्न चाहनेका लागि यो पुस्तक बरदान नै सावित हुने विश्वास गरेका छौ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको ‘कप्तान १९९८’ पुस्तकको सहलेखन कुमार श्रेष्ठ र सम्पादन जनक नेपालले गरेका हुन् । उक्त पुस्तकको अंश प्रस्तुत गर्ने जमर्को गरेका छौं । हरेक शनिबार क्रमशः प्रकाशन हुने पुस्तक अंश पढ्नका लागिwww.sunpani.comलाई लाइक गर्नुहोला । कोहीलाई यो पुस्तक चाहिएमा क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी (९८५१०९३२३४) लाई सम्पर्क गर्न सक्नु हुनेछ ।)