नेपालमा शिक्षक आन्दोलन र चुनौतीहरु

आज चैत्र २९ नेपालमा शिक्षक पेशालाई एउटा पेशाको रुपमा मान्यता दिलाउन र शिक्षकको पेशागत शुरक्षाको लागी लामो प्रयासपछि नेपालमा शिक्षकहरुको पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको विधिवत गठन भएको दिन । वि.सं. २००६ साल देखिको शिक्षकहरुको संगठित हुने अथक प्रयास तथा आरोह अवरोहपछि वि.सं.२०३६ सालमा एउटा शिक्षक समुदायको साझा आकांक्षा र समस्या समाधानको लागी शिक्षक समुदायको साझा हितलाई सर्वाेपरी राख्ने, वर्ग, जाती, धर्म, तह र क्षेत्रको भेदभाव नराखी शिक्षक शिक्षक विच परस्पर सद्भाव र समवेगको भावना विकास गर्नु आपसी सम्पर्क विचार आदान प्रदान र मैत्रीभावको विकास गरी पूर्वाग्रह हटाउने र सुदृढ एकता कायम गर्ने सैद्धान्तिक आधारमा स्थापना भएको नेपाल राष्ट्रिय संगठनको तत्कालिन पञ्चायती शासकले शिक्षकका मागलाई बेवास्ता गरेपछि देशव्यापी शैक्षिक हडतालको घोषणा पश्चात वि.सं.२०३६ साल चैत्र २९ गते नेपाल राष्ट्रिय संगठनको विधान पारित भएको र सरकारसँग ६ बुँदे सम्झौता भएको दिनको सम्झनामा प्रत्येक बर्ष नेपाल राष्ट्रिय संगठनले शिक्षक दिवस मनाउने गर्दछ । प्रत्येक बर्ष विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरी मनाइने दिवस यो बर्ष विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको प्रतिकुलताका कारणले ‘सदैव अडिग पेशागत स्वभिमान मुल्य र मान्यता, कोभिड–१९ विरुद्धको युद्धमा सकृय सहभागीता’ भन्ने नाराका साथ मनाइ रहेको सन्दर्भमा सम्पूर्ण नेपाली शिक्षक समुदायलाई हार्दिक शुभकामना ।
नेपाल राष्ट्रिय संगठनको नाममा गठन भएको नेपालको एकमात्र विशुद्ध पेशागत संगठनले ४१ बर्षको लामो समय पार गर्दै गर्दा नेपाली शिक्षकहरुको पेशागत हक अधिकारको क्षेत्रमा धेरै महत्वपूर्ण उपलव्धिहरु प्राप्त भएका छन् । शिक्षकको दरवन्दी श्रृजना स्थायित्व, सञ्चयकोष, ग्रेड, बढुवा, पेन्सन, तालिम आदी उपलव्धिहरु सजिलै प्राप्त भएका होइनन् यसका लागी ठूला आन्दोलन र बलिदानको इतिहास हामी सामु छ । नेपाली शिक्षकको हक–हितको लागी आन्दोलन गर्ने तथा बलिदान समेत गर्नुहुने ती सबै अग्रज व्यक्तित्वहरु प्रति आजको दिनमा उच्च सम्मान प्रकट गर्नु पर्दछ । कठिन समय पञ्चायती कालारात्रिमा स्थापना भएर संघर्ष गर्दै नेपाली शिक्षकहरुको पेशागत हक–हितको लागी सबै प्रकारका राजनैतिक व्यवस्था र शासकहरुसँग पैठेजोरी खेल्दै हाम्रो हितलाई सर्वाेपरी राख्ने नेपाल राष्ट्रिय संगठननै नेपाली शिक्षक आन्दोलनको मियो हो । बर्तमान अवस्थामा नेपाल संघीय शासन व्यवस्थामा प्रवेश गरेको सन्दर्भमा नयाँ शिक्षा ऐन आउने क्रममा रहेको समयमा यसको भूमिका अझै महत्वपूर्ण छ । वर्तमानमा नेपाली शिक्षक आन्दोलनका चुनौतीहरुलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
१. एकताबद्ध शिक्षक आन्दोलन :
एकतामै बल हुन्छ भन्ने मान्यतालाई कहि कसैले नकार्न सक्दैन । नेपालको शैक्षिक आन्दोलनमा वि.सं. २०३६ सालपछि जे जति उपलव्धिहरु भए सबै एकताबद्ध आन्दोलनको परिणाम थियो । जव नेपालमा २०४६ सालमा बहुदलिय प्रजातान्त्रिक व्यवस्थाको पुनस्र्थापना भयो, त्यसपछि नेपाली शिक्षक आन्दोलनमा फुट शुरु भयो । वि.सं.२०४७ साल बैशाखमा नेपाल शिक्षक संघको स्थापना पश्चात नेपालमा हरेक राजनैतिक दलको भातृ संगठनको रुपमा शिक्षकको विभाजन आज दर्जनौ संगठनको स्थापना भइसकेको छ । यसरी शिक्षकमा आएको फुटकै कारण आज हामी झोले शिक्षकको रुपमा अपमानित हुन पुगेका छौ भने अर्कोतिर हाम्रो पेशागत सौदाबाजी कमजोर हुन पुगेको छ । नेपाल नयाँ शासकीय व्यवस्थामा गएकोमा माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा राखिएको सन्दर्भमा हाम्रा अधिकारहरुमाथी पुनः प्रहार हुने सम्भावनालाई मध्यनजर गरि नेपाल राष्ट्रिय संगठनले शिक्षक आन्दोलनलाई एकतावद्ध बनाउने चुनौतीको सामना गर्नु पर्दछ । राजनीतिक दलको भातृ संगठन बनाएर केही थान नेता बन्न सकिएला तर पेशागत संगठन कमजोर पर्छ भन्ने कुरा इतिहासले प्रमाणित गरिसक्यो । सम्भव भएसम्म सम्पूर्ण शिक्षकको एकता नत्र नेपाल शिक्षक महासंघलाई राजनीतिक छायाँबाट पूर्ण मुक्त गरि प्रभावकारी बनाउने कार्यमा एउटा अभिभवकिय जिम्मेवारी नेपाल राष्ट्रिय संगठनले खेल्नु पर्दछ ।
२. पेशागत मर्यादा र सुरक्षा :
नेपालमा शिक्षण पेशा मर्यादित हुन अझै सकेको छैन । शिक्षकहरु समाजमा मर्यादित हुन सकेका छैनन् । आज शिक्षकहरु १८ औ प्रकारमा विभक्त छन् । सबै शिक्षकको समान सेवा सुविधा छैन । नेपाल सरकारले श्रमिकको लागी निर्धारण गरेको न्युनतम सुविधा समेत प्राप्त गर्न सकेका छैनन् । अझै पनि विभिन्न नाममा दशकौँ देखि शिक्षकहरु अस्थायी रुपमा कार्यरत छन् । शिक्षकले निजामती कर्मचारी सरह सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । नेपालको नयाँ व्यवस्था अनुरुपको संघीय शिक्षा ऐन बन्दै गर्दा उक्त ऐनमा शिक्षकको मर्यादा र पेशागत शुरक्षाको व्यवस्थ गर्ने गरि व्यवस्था गराउनु आजको अर्को चुनौती हो ।
– शिक्षकको तहगत बढुवा ।
– शिक्षकहरुलाइ समेत शिक्षा क्षेत्रको कर्मचारी बन्न पाउने व्यवस्था ।
– ट्रेडयुनियन अधिकारको ग्यारेण्टी ।
– संघीयतामा शिक्षकको सेवा सुविधाको सुनिश्चितता ।
– विद्यालयमा अनिवार्य न्युनतम शिक्षक दरवन्दी र भौतिक व्यवस्थापन ।
– बाल शिक्षक, राहात अनुदान उच्च मा.वि.को नाममा दशकौदेखि कार्यरत शिक्षकको उचित व्यवस्थापन ।
– विद्यालयमा कर्मचारीको व्यवस्थापन ।
– विद्यालय व्यवस्थापनको नाममा रहेको राजनीतिको अन्त्य ।
– संस्थागत विद्यालयमा कार्यरत लाखौँ शिक्षकको पेशागत अधिकार ।
माथिका व्यवस्थाहरु बन्दै गरेको शिक्षा ऐनमा समाबेश गराउन समेत नेपाल राष्ट्रिय संगठनले भूमिका खेल्नु आवश्यक छ । सम्पूर्ण शिक्षकको एकताबद्ध प्रयासबाट ऐनमा शिक्षक र शिक्षा संग सम्बन्धित व्यवस्था राख्नु अहिलेको एउटा चुनौती हो ।
३. शैक्षिक गुणस्तर वृद्धि :
नेपाली शिक्षा क्षेत्रको ठूलो चुनौती खस्कदो शैक्षिक गुणस्तर नै हो । देशको बार्षिक बजेटको ठूलो हिस्सा खर्चहुने विद्यालय शिक्षामा अपेक्षाकृत गुणस्तर वृद्धि हुन सकेको छैन । कक्षा कोठामा विधार्थाीसँग सिकाइ क्रियाकलापमा संलग्न हुने हामी शिक्षक नै भएकोले हामीले जिम्मेवारी लिनै पर्दछ । तर सम्पूर्ण रुपमा शिक्षकका कारण शैक्षिक गुणस्तर खस्केको भन्ने आरोपबाट आम शिक्षक समुदायलाई जोगाउनु आजको अर्को चुनौती हो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आंशिक आय–आर्जनको लागी विभिन्न व्यापार, एजेन्ट, सञ्जालयुक्त व्यापार तथा नीजि शैशिक संस्थामा शिक्षण गर्दा सामुदायिक विद्यालयमा इमान्दारीता देखाएनन् र शैक्षिक गुणस्तर खस्केको भन्ने आरोप आम रुपमा शिक्षकहरुमाथि लाग्दै आएको छ । अर्को तिर शिक्षकहरुले राजनीति गरेर गुणस्तर खस्केको भन्ने आरोप पनि लाग्दै आएको छ । हामी सामुदायिक विद्यालयका शिक्षकहरु आपm्नो शिक्षण कार्यमा इमान्दार बन्नै पर्दछ । आफु मातहतका सदस्य शिक्षकलाई पेशाप्रति इमान्दार बनाएर समाजमा उठेका आरोप खण्डन गर्न नेपालमा शिक्षाको गुणस्तर वृद्धिमा नेतृत्वदायी भूमिका खेल्नु पनि आजको चुनौती हो । राजनीतिको नाममा शिक्षकलाई बदनाम गरि पेशागत अधिकार कुण्ठित पार्ने प्रयासलाई असफल पार्दै शिक्षकको ट्रेड युनियन अधिकारको सुनिश्चितता गर्ने चुनौती समेत वर्तमानमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा छ ।
वर्तमान समयमा नेपाली शिक्षा र शिक्षकसँग सम्बन्धित अहम मुद्दाको सम्बोधन र चुनौतीको सामना गर्न संगठनको बल भनेको हामी सम्पूर्ण शिक्षकहरुनै हो । हामी सबै नेपाली शिक्षकहरु आफ्नो पेशाप्रति पूर्ण इमान्दारीताका साथ आफ्ना पेशागत हक–अधिकार प्राप्त गर्ने सवालमा आगामी बर्ष उपलव्धिमुलक बनोस्, ४१ औ शिक्षक दिवस २०७६ तथा नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना । आ–आफ्नो ठाउँबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइमा भूमिका खेलौं ।
धन्यबाद
(लेखक हाल प्रभात माबि जीगाउँमा कार्यरत हुनुहुन्छ ।)


error: यो सुविधा उपलब्ध छैन !