लकडाउनमा निकुञ्जभित्र ‘शिकारी कुकुर’

जंगली जनावर मार्न निकुञ्जमा छोडिएको शिकारी कुकुर । नियन्त्रणमा लिदै निकुञ्जका कर्मचारी ।

नेपालगञ्ज – गाभरमा एउटा बँदेल शिकारीको पासोमा परेको थियो । त्यो कुरा निकुञ्जमा खबर आयो । निकुञ्जको टोलीले गएर बँदेलको उद्धार गरे । शिकारी फेला परेनन् ।
बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर, चिसापानीमा गस्ती टोलीले बँदेल र रतुवाको मासुसहित ६ जनालाई पक्राउ ग¥यो । बैजनाथ गाउँपालिकाका ती ६ जनाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा शिकार गरी ल्याएको खुलेपछि उनीहरुलाई आवश्यक कारबाहीका लागि बर्दिया पठाइयो । सोही घटनाको खानतलासी गर्ने क्रममा अवैध रुपमा घरमा लुकाइराखेको चौकाको बच्चा फेला प¥यो । निकुञ्जको टोलीले चौकाको बच्चालाई उद्धार गरेर त्यसलाई समातेर ल्याउने दुई जनालाई कारबाहीका लागि बर्दिया पठायो ।
निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रवेश गरेका आठ जना र माछा मार्न पुगेका दुई जनालाई कारबाही गरेको छ । निकुञ्जको टोलीले एउटा शिकारी कुकुरलाई समेत समातेको छ । चोर शिकारीले शिकारी कुकुरलाई निकुञ्ज भित्र छोड्ने र कुकुरले चित्तल मारेपछि आफूहरु गएर मासु ल्याउने आकलन गरिएको छ ।

चोर शिकारीले पासोमा पारेको बँदेल । जसलाई निकुञ्जले उद्धार गरेको छ ।

मुलुक लकडाउनमा रहेको बेलामा निकुञ्जमा चोरी शिकारीका यस्ता गतिविधि बाहिर आएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले लकडाउनको बेलामा निकुञ्जमा हुन सक्ने अपराधिक गतिविधिबारे कडा निगरानी गरिरहेको बताउनुभयो । ‘हामीले नियमित गस्ती गरिरहेका छौं । पछिल्ला दिनमा भेटिएको यस्ता कार्यले चोर शिकारीको नजर निकुञ्जमा परेको देखिन्छ, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो ।
निकुञ्ज प्रशासनले लकडाउनले गर्दा फुर्सदिला भएका मानिसहरु निकुञ्ज भित्र जाने प्रवृत्ति देखिएकाले त्यस्तालाई रोक्न र कारबाही गर्न लागि परेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !