‘लकडाउन : सेल्फ क्वारेन्टाइनमा बस्दा’

नेपालगञ्ज – कोरोना (कोभिड १९) संक्रमणबाट संसार आक्रान्त भइरहँदा नेपाल पनि प्रभावित भइरहेको यो अवस्थामा हामी सबै सचेतपूर्वक ‘सेल्फ क्वारेन्टाइन’मा बसेर सुरक्षित रहन सक्छौं ।
यस्तो अवस्थामा बस्नु पर्दा के गर्ने त ? खासगरी चिकित्सकहरुले भनेका शर्तहरुको पालना गर्दै खाली समयको सदुपयोग हामी अध्ययन र सृजनात्मक काम गरेर विताउन सक्छौं । हामी कतिलाई त यो कुरा थाहै छ कि सुप्रसिद्ध बैज्ञानिक सर आइज्याक न्युटनले पत्ता लगाएको ‘युनिभर्सल ल अफ ग्रयाभिटेशन’ को सिद्धान्त उनी सेल्फ क्वारेन्टाइनमा बसेकै अवधिमा पत्ता लगाएका थिए ।
१६६१ मा क्याम्ब्रिज विश्व विद्यालयमा अध्ययनका लागि पुगेका न्युटन १६६५ मा ’भिमोनिक महामारी’ का कारण कलेज बन्द हुँदा सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा बसेका थिए । त्यही अवधिमा एक दिन आफ्नै घरको बगैंचमा घुम्न निस्केका न्युटनले रुखबाट स्याउ भुँईमा झरेको देखे, त्यही दृश्यलाई अध्ययन गर्दै ’युनिभर्सल ल अफ ग्रयाभिटी’ पत्ता लगाएका हुन् ।
हामी पनि अहिले कोरोना (कोभिड १९) बाट बच्न सुरक्षित रुपमा सेल्फ क्वारेन्टाइनको अवधिलाई आ–आफ्नो रुचि रहेका विषयमा सृजनात्मक काम गर्दै सदुपयोग गर्न सक्छौं । राज्यले लिएको एक हप्ते ‘लक डाउन’को अवधिमा हामी उच्च आत्मबलका साथ सरसफाईलाई विषेश ध्यान दिएर सतर्कताका साथ बसौं । रोअल्ड डाह्लद्वारा लिखित ‘पिग’ र ‘द भिजिटर’ जस्ता कथा पढेपछि पनि प्राचीन लघुकथाहरु पढ्नुका मज्जा बेग्लै हुन्छ । मानिसको संवेदनालाई कम्पन हुने गरी कथा लेख्ने साहित्यकारको कमी कहाँ छ र यो दुनियाँमा ।
‘दुनियाँमा जे हुन्छ–हुन्छ अनायास
हाँस्दा हाँस्दै मान्छे रुन्छ अनायास’
स्व. प्रेमप्रकाश मल्ल ‘मधुकर’को गजलको मतला हो यो । गजलका यी हरफले केही हदसम्म अहिलेको परिस्थितको पनि बयान गर्छ । मानिसको डर उसको सबैभन्दा मुख्य शत्रु हो । अरु डर भन्दा वस्तुतः मृत्युको डर सबैभन्दा ठूलो डर हो ।
कथाको कुरा गर्दा प्राचीन समयको एउटा राज्यको एक गाउँको कथा मानसपटलमा घरि–घरि आउँछ । सत्यो राज्यमा महामारी सरुवा रोगले ३ सय जनाको ज्यान गयो । त्यसै बखत गाउँको छेवैको खोला तरेर जाँदै गरेका देवतालाई त्यो राज्यका राजाका मुन्सिले देखेछन् । मुन्सीले देवतालाई प्रणाम गर्दै भने–‘प्रभु हजुरले त हाम्रो राज्यका ३ सय जनाको ज्यान लिई दिनुभयो, राज्य मुस्किलमा छ । राजा चिन्तामा छन ।’ देवताले जवाफमा भने– ‘मैले त सय जनाको मात्रै ज्यान लिएको छु । तिमी झुट कुरा गर्छौ ।’
मुन्सीले फेरी भनेछ– ‘म हिसाब किताब गर्ने काम गर्छु, मेरो हिसाव गलत छैन हे ! भगवान ।’
देवताले फेरी जवाफ दिंदै भनेछन्– ‘मैले त सयको ज्यान लिएँ तर बाँकी २ सय डरले आफै मरेछन् त म के गरुँ ?’
यो लघु कथाले जो कसैको मानसपटलमा ढ्यांग्रो ठोक्छ । मलाई भतृहरी नीतिशतकको एउटा श्लोक सम्झना आयो–
‘सर्व वस्तु भयान्वितं
भुवि नृणां वैराग्यमेवाभयम ।’
सबै उपलब्धिहरु भययुक्त हुन्छन्, भयमुक्त हुने भनेको त वैराग्य मात्रै हो । वैराग्य मानिसको स्वभाव हो । कथाले के देखाउँछ भने मृत्यु भन्दा मृत्युको भय अर्थात डर खतरनाक हुन्छ ।
हामी संयमित भएर सरसफाईलाई ध्यान दिंदै राज्यले तय गरेको यो ‘लक डाउन’को अवस्थामा सामान्य दिनचर्या बनाउने प्रयास गरौं ।


error: यो सुविधा उपलब्ध छैन !