नेताहरुले जाल बुनिरहे…
बर्दिया – ‘मलाई गर्व छ थारु हुनुमा’ खेलाडीको जर्सीजस्तै देखाउने गरी आफुले लगाएको पोशाकको पछाडी लेखिएका यी हरफले साँच्चिकै उनीहरुलाई थारु भएर जिन्दगी जिउन गौरवान्वित बनाएको सहजै बुझ्न सकिन्छ ।
रातो र निलो रंगले यी साइकल यात्रुले लगाएको टिसर्टमा मानिसको जीवन चलाउने ढुकढुकी मुटुको चिन्ह पनि अंकित छ । बर्दियाको सडकमा साइकल सवार यात्रु हुन् उनी । सोझै हेर्दा आँखाको दृष्टिले भ्याउँदासम्म खेतमा गहुँ झुलेको देखिन्छ । अनि दायाँ फर्किंदा चैते धान हरियै देख्न सकिन्छ, बाँया घुम्यो कि अरहरीका बुट्यान लटरम्मै कोसा लागेका देखिन्छन् तर पनि किसानको मनमा हरियालीको महशुस हुँदैन, यो वारी र पारीको बर्दिया हो ।
‘कसले के–के जाल बुने, हाम्रो वारी गाउँलाई जालमा पारे, न यताको न उताको बनाए । त्यही एउटा गेरुवा नदी कोठियाघाटमा पुल बन्यो र सजिलो भएको मात्रै छ, जाल बुन्दै गरेका ७० बर्षिय घोघला थारु गनगनाउँदै राज्यप्रतिको असन्तुष्टि बिसाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी त माछा मार्ने जाल बुन्छौं हजुर, नेताहरुले त के–के जाल बुन्छन् के–के, हामी जनतालाई झुक्याउन । माछा मार्ने जाल बुन्न अढाई महिना लाग्छ तर नेताहरुले त बर्षौंदेखि के जाल बुने, के जाल । बर्दियालाई फसाउने जाल पो बुनेछन् ।’
घोघलाले नेताहरु चुनाव जितेर काठमाडौंतिर सरिरहदा आफूहरु जहाँको तही उस्तै अवस्थामा रहेको दुःख बिसाउदा उदितनारायण झाले गाएको एउटा गीतको याद आयो, ‘माझी दाइले जुनीभरी डुंगा तारी रहे, अरुलाई तार्दा तार्दै आफू चाहि वारी रहे ।’
संघीय संरचनाको प्रदेश विभाजन र विकासप्रति उनको यो जोडदार असहमति हो । सुतिको धागो ३ लक्षी लाग्छ, सयको एक लक्षी पर्छ । बर्षमा ४–५ वटा हल्का र जाल बुनेर बिक्री गर्छन् घोघला थारु । ६ भाइ छोरा १ छोरीका बाबु घोघरा थारु छत्री, सुप्पा घरायसी प्रयोजनमा आउने वस्तु लगभग सबै बुन्छन् । साँच्चिकै थारु समुदाय कला, संस्कृति, भेषभुषा, रहनसहन, खानपिनले धनि समुदाय हो ।
कुनै बेलाको मानपुर टपरा गाउँमा बजारको चहलपहल बढेको छ । गल्ला खरिद गर्ने सीमित ब्यवसाय पहिलेदेखि नै मानपुर टपरामा थियो तर अहिले बजार गतिलै बनिसकेको छ । घोघरा थारु पनि यहींका वासिन्दा हुन् ।
पहिले नेपाली काँग्रेसले जाल बुन्यो, कहिले एमालेले अनि कहिले माओवादीले, अब त कसैमाथि पनि भरोसा लाग्दैन । उनै वृद्ध थारुका भनाई हुन् यी । युवाहरु वेरोजगार छन् । घरेलु काम उद्योगका लागि कहिं कतैबाट केही सहयोग मिल्दैन । कृषकहरुलाई दिने भनेको ऋण र सहुलियत दरको मलखाद पाइदैन, आइहाल्यो भने पनि समयमै आउँदैन । कति बोल्नु हजुर यो उमेरै वित्यो, अब त केही होला भन्दैमा ।
घोघला थारु यो क्षेत्रका अधिकाशं कृषकहरुका एक प्रतिनिधि पात्र हुन् । उसो त मानखोला र भादामा नयाँ पुल निर्माण भइरहेका छन् बाँकेको नेपालगञ्ज जोड्न । सदरमुकाम बजार क्षेत्रमा सडक चौडाको काम धमाधम चलिरहेको देखिन्छ । राधाकृष्णचौक पुग्दा बजार क्षेत्र पुनर्निर्माण भइरहेको महशुस गर्न सकिन्छ, यो छोटो बर्णन मुहार फेर्दै गरेको बर्दियाको हो । तर पनि जिल्लावासीहरु सुस्त गतिको यो विकास निर्माणबाट सन्तुष्ट छैनन् । अशोक यादव विकास निर्माणको गुणस्तरमा पटक्कै चित्त नबुझेको बताउनुहुन्छ । गुलरिया बजारका स्थायी वासिन्दा हुन् यादव ।
तुलापुर चौक नपुग्दै पर्ने सानो नालामा बर्षौंसम्म कल्भर्ट नहुँदा यातायातका साधन आवतजावत गर्न मुस्किल पर्ने कोठियाघाट–गुलरिया सडक खण्डको पश्चिमको बाटो चौडा र कालोपत्रे छ । पीच सडकले ढुवानी सहज बनेपछि पहिले भन्दा आर्थिक कारोबार उकालो लाग्दै गरेको त देखिन्छ तर जनअपेक्षा त्यो भन्दा पनि अग्लो छ ।
गुलरिया क्षेत्र मात्रै नभएर त्यहाँ भन्दा पश्चिमका स–साना चौक बजारमा चहलपहल गजबको देखिन्छ, पुरानो तारातालका नामले चिनिने मधुवन नगरपालिकाको बजार क्षेत्रमा शहरीकरणको प्रभाव बढ्दो छ । ढोढरी र ओराली बजार पनि बढ्दो शहरीकरणको प्रभावमा परेका छन् । सडकदेखि भित्री भागमा पर्ने गाउँहरुमा पक्कि घर धमाधम बनिरहेका छन् । कतिपय खेतीयोग्य जमिन मासिएर गाउँहरु बजार उन्मुख शहरीकरणको बाटोमा छन् ।
परम्परागत रुपमा प्रयोग हुने गोरु र रांगाले तान्ने लडिया स्थानीय भाषामा भनिने डल्लपको साटो ट्रयाक्टर र अन्य सवारी साधनको चाप बढ्दो छ । तर पनि ग्रामीण इलाकामा अहिले पनि सर्वसाधारणहरु ती परम्परागत सवारीका माध्यमलाई दैनिक जीवनमा प्रयोग गरिरहेका भेटिन्छन् ।
स्वास्थ्य उपचारमा गुणस्तरको हिसाब लगाउने हो भने कमजोर अवस्थामा रहेको बर्दियालाई संघीय सरकारबाट उचित बजेटको ब्यवस्थपन हुन नसकेपनि स्थानीय तह गुणस्तर वृद्धिको प्रयासमा जुटिरहेका छन् । संसारलाई आक्रान्त पारेको कोरोना (कोभिक–१९) प्रभावलाई जाँच गर्न साविकको ११ गाविस पस्ने मुख्यद्वार खैरी चन्दनपुरमा कोरोना भाइरस स्क्रिनिङ हेल्थ डेस्क स्थापना भए पनि निगरानी प्रभावकारी देखिंदैन ।
कुनै बेला द्वन्द्वको चपेटामा नराम्रोसँग परेको बर्दिया अहिले पनि सामाजिक विकास र न्यायको पक्षमा संघर्षरत देखिन्छ । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्रले आशा गरे जति पर्यटक भित्र्याउन सकेको छैन । पर्यटनको लक्ष्य हासिल गर्न नसकेको यो क्षेत्रले पर्यटकीय पूर्वाधारको थप विकसालाई पर्खेर बसेको महशुस हुन्छ ।
गुलरिया–कोठियाघाट–राजापुर सडक खण्डको सर्जु नालामा पनि पुल निर्माण भइरहेको छ । सडक छेउमा गति सीमित लेखिएका बोर्डहरुले यातायातका साधनहरुको चापलाई कुसुम्बा बजारमा स्वयं नियण्त्रण गर्ण चित्रण गरेको देखिन्छ ।
कुनै बेलाको ब्यापारिक केन्द्र राजापुरमण्डी नगरपालिका घोषणा त भयो भौतिक पूर्वाधारले निकै पछाडी छ । राजनीतिक आन्दोलन र ब्यवस्था परिवर्तनको लडाईमा यो क्षेत्रले दरिलो उपस्थिति जनाएपनि अहिले चौक बजारमा गाडिएको राष्ट्रिय झण्डा सहितको राजापुर क्षेत्रले विकासको एजेण्डामा संघर्ष गरिरहेको सजिलै बुझ्न सकिन्छ । द्वन्द्व प्रभावितहरुका पीडा अझ कति छन् कति छन् । पहिलेका रैथानेहरु नेपलगञ्ज र काठमाडौं बस्छन् । समयमा कृषि उत्पादनको भाउ मिल्दैन । खेती किसानीको श्रम र समयको मुल्य खेर गइरहेको छ ।
अब व्यवस्था परिवर्तन पछिको यो बदलिंदो परिवेशले यस क्षेत्रका नागरिकलाई राज्यले अभिभाकत्व लिएको छ भन्ने आभास दिलाउन सक्नुपर्छ ।