केरला क्वारेन्टाइनबाट भागेका नेपाली कुन नाकाबाट छिरे ?
नेपालगञ्ज – भारतको केरला क्वारेन्टाइनमा राखिएका दुई जना नेपाली भागेका छन् । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका ती दुई जना भागेपछि त्यहाँबाट नेपालमा खबर आएको छ । दाङका ती दुई जना कुन नाकाबाट नेपाल प्रवेश गर्छन् प्रहरीले निगरानी गरेको छ ।
नेपालगञ्ज नाकामा ती व्यक्तिको फोटोसहित प्रहरीले निगरानी राखेको छ । तीन दिन भइसक्यो फेला परेका छैनन् । दाङ घर भएकाले कृष्णनगर नाका प्रवेश गर्ने आशंका पनि गरिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्ति भागेर आउदा जोखिम बढेकाले उनीहरुलाई नाकाबाट नेपाल प्रवेश गर्दा समातेर क्वारेन्टाइनमा राख्न निगरानी गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई भारतबाट खबर आएकोले निगरानी थालिएको छ । तर, नेपालगञ्ज नाकाबाट दैनिक एक हजार जना आउँछन् उनीहरुको निगरानी कसले गर्ने ? खाली तापक्रम नापेर मात्रै हुन्छ त ? प्रश्नै प्रश्न उब्जिएको छ । संक्रमण भएको ठाउँबाट आएकालाई कम्तीमा १४ दिन निगरानी गर्नुपर्ने हुन्छ । यहाँ त तापक्रम हेर्ने र ज्वरो छैन भने पठाउने गरिएको छ । तत्काल ज्वरो नदेखिएपनि संक्रमित ठाउँबाट आएका व्यक्तिमा कोरोना हुन सक्ने संभावना बढी हुने डा. राजन पाण्डे बताउनुहुन्छ ।
नेपालगञ्जमा गठन गरिएको टास्कफोर्सको बैठकमा पनि नाका बन्द गर्नुपर्ने, आएकालाई एक दुई दिन क्वारेन्टाइनमा राखेर पठाउनु पर्ने आवाज उठेको छ । तर, दैनिक एक हजार आएकालाई कहाँ राख्ने चिन्ताको विषय बनेको छ ।
नाकामा देखिएको भीडभाडले गर्दा त्यहाँ खटिएका स्वास्थ्यकर्मी नै चिन्तित भएर रोटेशन गर्नुपर्ने, बिमालगायत अत्यावश्यक सामान चाहिने माग राखिसकेका छन् । नाका बन्द गर्नुपर्ने चौतर्फी दबाबका बीचमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाकालाई कडाई गरिरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीको खड्काको संयोजकत्वमा रहेको टास्कफोर्सले क्वारेन्टाइन र आइसोलेसनका लागि विभिन्न ठाउँमा हेरिरहेको छ । लायन्स अस्पतालमा ४० बेडको आइलोसेन कक्ष बनाउने तयारी भएको छ । क्वारेन्टाइनका लागि अन्य ठाउँ हेरिएको छ ।