अत्यावश्यकबाहेकका पसल बन्द !
नेपालगञ्ज – कोरोना पूर्व तयारी लागि गठित जिल्ला स्तरीय टास्कफोर्सले खाद्यान्न, औषधीलगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
भीडभाडले गर्दा अझ जोखिम बढेको भन्दै शनिबार उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लायन्स डेन्टल अस्पतालमा आइसोलेसन स्थापना गर्ने, वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइलोसेनका लागि आम नागरिकमा आव्हान गर्ने, कोरोनाविरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनमा कडाई साथ प्रस्तुत हुने निर्णय गरेको छ ।
बैठकमा नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता एवं नेपालगञ्ज वडा नं. १ का अध्यक्ष प्रमोद रिजाललगायतले एक हप्ताका लागि भएपनि नाका सील गर्नु पर्ने बताउनुभयो । वडाध्यक्ष रिजालको भनाईमा सहभागीले धेरैले समर्थन गरेका थिए ।
बैठकमा प्रदेशसभा सदस्य कृष्ण केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेकपा बाँकेका सचिव अशोक कोइराला, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर वली लगायतको सहभागिता रहेको थियो ।
बैठकपछि टोलीले खजुराको क्यान्सर अस्पताल, आइएनएफ, लायन्स अस्पताल, महेन्द्र बहुमुखी क्याम्पसको अवस्था अवलोकन गरेका छन् । लायन्स अस्पतालमा ४० बेड राखेर बिरामीलाई उपचार गर्ने, अन्य ठाउँमा पनि क्वारेन्टाइनका लागि हेरिएको थियो ।