भारत जान सवारी साधन निषेध, जानै परे पैदल
नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट भारत जानका लागि सवारी साधनलाई निषेध गरिएको छ ।
नेपाल र भारतका अधिकारीहरुको नेपालगञ्जमा भएको अनौपचारिक भेटघाटपछि यस्तो निर्णय गरिएको छ । नेपालगञ्ज नाका भएर बुधबार विहानदेखि सवारी साधन लिएर भारत जान निषेध गरिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्जको चौलिक्कादेखि नाकातिर सवारी साधन लैजान पाइदैन । कोहीलाई भारत जानै परे त्यहाँबाट हिडेर जान सक्छन् ।
चौलिक्कामा सवारी साधन रोकेर करिव तीन किलोमिटर टाढा रहेको रुपैडिहा जाने व्यक्ति जरुरी कामबाहेक जाने अवस्था रहदैन । यो एक प्रकारले हाइअलर्ट मात्रै होइन, अघोषित रुपमा नाका बन्दजस्तै हो ।
भारत बहराइचका डीएम शम्भुकुमार र एसपी विपिनकुमारले बाँकेका समकक्षी प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपी वीरबहादुर ओलीलाई भेट्दा नाकाको भीड कम गर्न सुझाव दिनु भएको थियो । बहराइचका समकक्षीहरुसँगको भेटपछि प्रजिअ खड्का र एसपी ओलीले जमुनाहामा पुगेर भारतबाट आउने सबैलाई लाइन लगाएर जाँच गर्ने र बुधबारदेखि चौलिक्कादेखि उता सवारी साधन जान नदिन निर्देशन दिनु भएको थियो ।
अन्यत्रका नाकाहरु बन्द भइसक्दा नेपालगञ्ज नाका ‘रामभरोसे’ थियो । निर्वाध रुपमा दिल्लीसम्म सवारी चलेका थिए भने उताबाट पनि सवारी साधनहरु आइरहेका थिए । भारतबाट आएका व्यक्तिहरुको स्वास्थ्य जाँच हुन सकेको थिएन ।
नेपालगञ्जका सरोकारवालाहरुको बैठकले अत्यावश्यक कामबाहेक रुपैडिहा नजान आग्रह गरिसकेका थिए । त्यसका वावजुद किनमेलकै लागि रुपैडिहा जाने गरिएको थियो । बुधबारदेखि रुपैडिहा जानै परे करिव तीन किलोमिटर हिड्नु पर्ने भएको छ । त्यसका साथै नाका कट्ने बित्तिकै भारतीय अधिकारीहरुले लाइन लगाएर स्वास्थ्य जाँच गर्ने जनाएका छन् ।
विश्वव्यापी रुपमा आतंक मच्चाएको कोरोना भाइरसको जोखिम कम गर्नका लागि स्थानीय प्रशासनले नाकाको भीड कम गर्न यस्तो निष्कर्ष निकालेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले समकक्षीहरुको भेटमा नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपाली नाकामा स्वास्थ्य जाँच गर्ने कुरा भएको बताउनुभयो । ‘भारतबाट आउनेलाई हामी जाँच गर्छौ, नेपालबाट भारत जानेलाई उहाँहरुले स्वास्थ्य जाँच गर्नुहुन्छ, प्रजिअ खड्काले भन्नुभयो, दुवै देशले समन्वय गरेर अघि बढ्ने कुरा भएको छ ।’
नेपालगञ्जदेखि करिव दुई सय किलोमिटर टाढा रहेको लखनउमा समेत कोरोनाको संक्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ ।