क्यामेराले चोर देखाएपछि…

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जले दुई जना चोर शिकारीलाई नियन्त्रणमा लिएको छ ।
निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जभित्र ठाउँ ठाउँमा राखिएका क्यामेरालाई पछ्याउदै हतियारसहित गुफामा लुकेर बसेका चोर शिकारीलाई नियन्त्रणमा लिएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्राईका अनुसार, ‘पोचर्स क्यामेरा’लाई पछ्याउदै दुई जना चोर शिकारीलाई पक्राउ गरिएको छ । दाङका कुलबहादुर ओली र हिमलाल खत्री गस्ती टोलीको फन्दामा परेका हुन् । निकुञ्जको कोर एरियाभित्र पर्ने बहिबर चौर भन्ने ठाउँमा तीन थान भरुवा बन्दुक, बारुद, पासो, गुलेली, सिसा, छिनो, खुकुरी, सलाईसहित उनीहरु पक्राउ परेका हुन् ।
शिकार खेल्न तम्तयार अवस्थामा रहेका उनीहरुले शिकार गर्न पाइसकेका थिएनन् । यद्यपि, उनीहरुले यसअघि शिकार गर्ने गरेको बयान दिएका छन् । निकुञ्जले ठाउँठाउँमा पोचर्स क्यामेरा जडान गरेको छ । यो क्यामेराले मान्छेको फोटो खिच्छ । क्यामेरा राखेको ठाउँबाट मान्छे हिड्दा फोटो कैद हुन्छ । यो क्यामेराले जनावरको फोटो खिच्दैन ।
निकुञ्जले चोरी शिकार हुने संवेदनशील क्षेत्रहरुमा विशेष निगरानी राख्ने गर्दछ । नेपालकै कान्छोमध्येको बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौकालगायत संरक्षित जनावरको संख्या बढ्दो क्रममा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !