मिस नेपालका लागि नौ जनाले दिए अडिसन

नेपालगञ्ज – मिस नेपाल २०२० का लागि नेपालगञ्जमा अडिसन भएको छ ।
द हिडन टिजरले शुक्रबार यहाँ आयोजना गरेको अडिसनमा नौ जना सहभागी भएका छन् । त्यसअघि आयोजना गरिएको अभिमुखीकरण तालिममा ४२ जना सहभागी भएका थिए ।
यसपालीको अडिसनमा गुणस्तरीय सहभागिता भएको द हिडन टिजरका निर्देशक प्रमोद कंसकारले बताउनुभयो । यसअघिका अडिसनमा संख्यात्मक रुपमा धेरैले अडिसन दिएपनि तोकिएको सबै मापदण्ड पुगेका हुँदैनथे ।
नेपालगञ्ज जेसीजसँग मिलेर द हिडन टिजरले नेपालगञ्जमा अडिसन गरेको थियो । अडिसनमा आएकाहरुमध्ये छानिएकालाई पछि खबर गर्ने आयोजकले बताएका छन् । नेपालगञ्ज, बुटवल, धनगढी, पोखरा, चितवन, बिर्तामोड, धरान, वीरगञ्जलगायतका शहरमा अडिसन गरेपछि त्यहाँबाट छानिएकालाई काठमाडौंमा मिस नेपालका लागि प्रतिस्पर्धा गराइन्छ । मे १५ मा मिस नेपाल घोषणा गरिने आयोजकले बताएका छन् ।
नेपालगञ्जको अडिसनमा छुटेकाहरुले आधिकारिक वेभसाइडमा गएर आवेदन दर्ता गर्न सक्ने नेपालगञ्ज जेसीजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो । मिस नेपालका लागि १८ देखि २६ वर्ष उमेरको हुनुपर्छ ।


error: यो सुविधा उपलब्ध छैन !