जेलैजेल परेका गिरी अब सांसद

नेपालगञ्ज – नेपाली काँग्रेसले प्रदेश ५ को प्रदेश सदस्य (सांसद)का लागि शंकर गिरीको नाम सिफारिस गरेको छ ।
प्रदेश ५ का प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेलको निधन पछि रिक्त रहेको उक्त स्थानमा दाङ काँग्रेसका नेता गिरी सिफारिस हुनुभएको हो ।
तुलसीपुर उपमहानगर–१२, कचिला, दाङ स्थायी निवासी गिरी अस्थाई रुपमा नेपालगञ्ज पनि बस्ने गर्नुहुन्छ । स्व. नेता सुशील कोइरालासँग लामो समय काम गरेका गिरीले पञ्चायतकालदेखि नेपालगञ्जलाई सेल्टर बनाएर राजनीतिक गतिविधिमा सक्रिय रहेको गिरी सम्झनुहुन्छ ।
अध्ययनशील ब्यक्तित्व गिरीले वी.ए.पास गर्नु भएको छ । गिरी स्पष्ट वक्ताका रुपमा देशभरी नै चिनिनुहुन्छ । स्व. लक्ष्मीमादेवी गिरी स्व. कुलबहादुर गिरीका सुपुत्रका रुपमा उहाँको जन्म वि.सं.२१ पौष २००९ भएको हो ।
२०२७ साल पौष १ गते राति राप्ती अञ्चलाधीश कार्यालयको गेटमा कालो झण्डा गाडेर सक्रिय राजनीति शुरु गरेका गिरी नेपाली कांग्रेसको सशस्त्र संघर्षको क्रममा २०३१ सालमा पिस्तोल काण्डमा नेपालगञ्जमा गिरफ्तार हुनुभएको थियो ।
२०३६ को जनमत संग्रहमा बहुदल प्रचार समिति नेपाली कांग्रेस दाङको वी. पी. कोइरालाद्वारा अनुमोदित कांग्रेसको कार्य समिति सचिव रहनु भएका गिरी २०३८ सालको आमनिर्वाचन बहिष्कारको क्रममा दाङमा जेल पर्नुभयो ।
राजनीतिक गतिविधिमा २०४२ सालको सत्याग्रहमा दाङ जेल पर्नुभएका गिरी पार्टीमा २०३६ देखि २०४५ सम्म र २०५९ देखि २०७२ सम्म निरन्तर जिल्ला कार्यसमितिको विभिन्न भूमिकामा रहेर राजनीतिमा सक्रिय रहनु भएको अनुहारका रुपमा दाङमा चिनिनुहुन्छ ।
२०४० सालमा राप्ती अञ्चल केन्द्रिय सम्पर्क समितिको सदस्य भएर पार्टीको संगठन निर्माणमा उहाँले खेल्नुभएको भूमिका स्मरणयोग्य छ ।
वि.सं.२०४० देखि २०४९ सम्म मा. वि. तहको प्र.अ. र सक्रिय शैक्षिक नेतृत्व गर्दा पटक पटक राज्यबाट गिरफ्तारीमा पर्नुभएका गिरी राजनीतिक विषयमा गहन रुपका लेखन कार्यमा उत्तिकै सक्रिय नेताका रुपमा परिचित नाम हो ।
२०४६ सालको जनआन्दोलनमा दाङमा मात्रै नभएर मध्यपश्चिम क्षेत्रमा नै सक्रिय रुपमा आफ्नो उपस्थिति जनएका गिरी पार्टीको नवौं, दशौं, एघारौं, वाह्रौं र १३ औं महाधिवेसनमा प्रतिनिधित्व गर्नुभएको सक्रिय राजनीतिको अब्बल पात्र हो ।
२०५९ पछिको संसद पुनस्र्थापनाको हरेक आन्दोलनमा निरन्तर लागेका गिरी राजाद्वारा गराइएको नगर निर्वाचनको विरुद्धमा प्रहरी हिरासतमा समेत पर्नुभएको थियो । २०६२÷६३ को आन्दोलनमा पनि गिरफ्तारीमा परेका गिरी माओवादीद्वारा कब्जा गरिएका सम्पत्ति फिर्ता अभियानमा दर्जनौ पटक वार्ता प्रक्रियामा सहभागि रहनुभयो ।
नेपाली कांग्रेस केन्द्रिय संगठन विभागको पूर्व सदस्य रहेका गिरी पार्टीको प्रशिक्षकका रुपमा विभिन्न जिल्लामा प्रशिक्षण अभियानमा पनि उत्तिकै सहभागी रहनुभयो ।
२०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार रहेका गिरी २०७४ को आम निर्वाचनमा ५ नं. प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार रहनुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !