चप्पल उद्योगमा भीषण आगलागी, एक पोलिए
नेपालगञ्ज – जानकी गाउँपालिका–३, इन्द्रपुरमा रहेको चप्पल उद्योगमा आगलागी भएको छ । आगलागीमा परेर एकजना घाइते भएका छन् ।
नेपालगञ्ज–गुलरिया सडक खण्डमा पर्ने अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको जय सियाराम मेनु फैक्चरिङ इन्ड्रस्टिज प्रालीमा गएराती १२ बजेदेखि विहान आठ बजेसम्म आगो लागेको हो । आगलागीबाट उद्योगका कर्मचारी दिलिपकुमार चमार घाइते भएका छन् । चमारको हात, खुट्टा पोलिएको छ । उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।
राती आगलागीसँगै एक्कासी ठूलो आवाज आएको थियो । बाँके र बर्दियाका गरी ६ वटा दमकल, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टीमले आगोलाई नियन्त्रणमा लिएका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले प्रहरीको टोली राती एक बजेदेखि आगो निभाउन लागि परेको बताउनुभयो ।
उद्योगमा चप्पल, पोछा र ट्वाइलेट ब्रुस बन्थ्यो । रातीमा समेत कामदार रहने भएपनि होलीले गर्दा मंगलबार राती कामदार थिएनन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन सकेको छैन ।