किस्सै-किस्सा जोडिएका छोट्कौ

नेपालगञ्ज – मुखमा पान, सर्ट पाइन्टमा चिटिक्क स्त्री लागेको पोशाकमा साधारण देखिने मध्यम कदका ब्यक्ति छोट्कौ दाइ अर्थात निजामुद्दिन अन्सारी ।
उनी नेपाली काँग्रेसका एक ईमान्दार कार्यकर्ता हुन् । उनी जिल्ला तहमा नेता हुन् । उनको आफ्नो अन्य कुनै ब्यवसाय छैन । काँग्रेसका सदावहार कार्यकर्ता अनि बाँकेका लोकप्रिय नेता पनि हुन् ।
नेपालगञ्जको एकलैनीका स्थायी वासिन्दा हुन् अन्सारी । हाल काँग्रेसनिकट मुस्लिम संघका उपाध्यक्ष छन् । उसो त बाँके सभापतिबाट अन्सारी आमन्त्रित सदस्यका रुपमा मनोनित छन् जिल्ला कार्य समितिमा । नेपाली काँग्रेसमा उनको निरन्तरता स्रहानीय छ ।
एउटा गजबको प्रसंग छ, (यो विषयका दुवै सम्बन्धित ब्यक्ति तत्कालिन पार्टी सभापति कृष्णमान श्रेष्ठ र छोट्कौ दाइ) २०६२ को जनआन्दोलन चर्किसकेको त थिएन तर काँग्रेस लगातार संसद पुनस्र्थापनाको माग सहित आन्दोलनरत थियो । त्यति नै बेला नेका बाँकेका सभापति श्रेष्ठ अर्ध भूमिगत जस्तै थिए । कारण थियो, प्रहरीले धमाधम नेता तथा कार्कर्ता पक्राउ गर्न थालिसकेको थियो । काँग्रेस नेता सुशील कोइराला नजिक रहेका बाँके सभापति श्रेष्ठले निजामुद्दिन अन्सारीलाई कार्यवाहक दिएर सीमित कार्यकर्तहरुसँग मात्रै सम्पर्क गरिरहेका थिए ।
रानितलाउ आसपास क्षेत्रको काँग्रेस पार्टी कार्यालय रहँदा कार्यवाहक त कति हो कति पटक भए तर आन्दोलनको नेतृत्वका लागी छोट्कौ दाइले अठारौं पटक कार्यवहाक पाउँदा खुसी लागेको बताउँछन् । अन्सारी थप्छन, ‘१७ पटकसम्म हुँदा खासै केही मतलव लागेन तर जब अप्ठ्यारोमा आन्दोलनको समयमा पार्टीको नेतृत्व गर्दाको क्षण सम्झँदा गर्व लाग्छ ।’ त्यो भनेको अठारौं पटकको कार्यवाहकको जिम्मेवारी थियो ।
त्यही दिन प्रहरीलाई छक्याउँदै दिउँसो २ बजे एकलैनीबाट कालो झण्डा लिएर त्रिवेणीमोडसम्म राजाका विरुद्ध विरोध प्रदर्शन गर्दै लगातार आन्दोलनलाई अघि बढाए उनले । सरल स्वभावका छोट्कौ दाइ पार्टी भित्र लोकप्रिय छन् तर उनले पछिल्लो स्थनीय तहको चुनाव जित्न सकेनन् । ०६४ र ०७० सालमा संविधान सभा सदस्यको प्रवल दाबेदार निकै चर्चा बटुलेका उनी सभासद् हुन भने पाएनन् ।
निकै हक्की स्वभावका उनको अर्को रोचक प्रसंग छ, एक पटक सुशील कोइराला प्रधानमन्त्री भएकै समयमा हो उनलाई कहिं कतै राजनीतिक नियुक्तिमा लाभको पद दिन खोजिंदै थियो । प्रधानमन्त्रीको निजी सचिवालयबाट उनलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मागियो तर उनले त्यस्तो लाभको पदमा रुची नभएको भन्दै प्रधानमन्त्री कोइरालाकै सामुन्ने भने, ‘मेरो सबै प्रमाण पत्र त तपाँई नै हो ।’ प्रधानमन्त्री कोइराला मुस्कुराई रहे, उनको जवाफ सुनेर ।
अर्थात उनलाई पार्टीको संगठन नै प्यारो थियो न कि लाभको पद । निर्धक्क बोल्ने छोटकौ दाइले तेर्हौं महाधिवेसन अघिको जिल्ला अधिवेशनमा साविकको क्षेत्र नं. ३ मा आफ्नो छुट्टै बर्चस्व कायम राख्न सफल रहे । उनले युवा, मधेशी, मुस्लिम र महिलाको समावेशिताको मान्यतालाई नै आफ्नो मुल आधार बनाएर संगठन गर्ने गर्दछन् । तर पार्टी भित्रको आन्तरिक गुटबन्दीको चपेटमा पनि पर्छन् उनी । तर संयमित भएर संगठनका काममा निरन्तर लागिरहने एउटा नाम हो, (निजामुद्दिन अन्सारी अर्थात छोट्कौ दाइ ।


error: यो सुविधा उपलब्ध छैन !