समान सहभागितामा जोड
नेपालगञ्ज – १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको बाँके जिल्लाका न्यायिक अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा वक्ताहरुले महिला सशक्तिकरणदेखि समान सहभागिता र साझा प्रतिबद्धताको आवाज उठाएका छन् ।
महिला विकास अधिकृत मञ्जु पाण्डेय, माइती नेपालका केशव कोइराला र स्याकका जगदीश थापाले विभिन्न कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा जिल्ला न्यायाधीश मनकुमारी विक जीएमले महिला तथा बालबालिकाको न्याय मर्न नदिने प्रण गर्नुभयो । ‘महिला तथा बालबालिका मुद्दा संवेदशील हुन्छन्, मैले उनीहरुको न्याय मर्न दिदैन, जिल्ला न्यायाधीश जीएमले भन्नुभयो, तपाईहरुले पीडितलाई अदालतसम्म ल्याइदिनुस् ।’
एसपी वीरबहादुर ओलीले आफ्नो र संघ संस्थाका बीचको फरक तथ्यांकलाई एकरुपता बनाउनु पर्ने बताउनुभयो । महिलालाई हिंसा गर्नेलाई प्रहरीले कारबाही गरिरहेको जानकारी दिदै ओलीले प्रहरीलाई सबैको साथ सहयोग चाहिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले नेपालगञ्ज ‘सेभ सिटी’को रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका रमेश रावत, अधिवक्ता बलबहादुर चन्द, विनरकका कमला पन्त, शक्ति समूहका निर्मला पौडेल, पूजा बर्मा, श्वेता गुरुङलगायतले महिला आफै पनि अघि सर्नुपर्ने, पुरुषले साथ दिनुपर्नेलगायतका मन्तब्य राख्नु भएको थियो । दिवसको अवसरमा हस्ताक्षर अभियान पनि चलाइएको थियो ।