इन्चार्ज हुन किन मान्दैनन् महिला प्रहरी ?

नेपालगञ्ज – यसपालीको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘समानताको पुस्ता : अन्त्य गरौं, हिंसा, विभेद र असमानता’ भन्ने थियो ।
कार्यालयको कामदेखि ज्यालासम्म अर्थात हरेक कुरामा समानता भनिएको छ । श्रीमान कर्मचारी, महिला पनि कर्मचारी छ भने महिलाले कार्यालयबाट आएपछि घरको सम्पूर्ण काम गर्नुपर्ने, श्रीमानले आराम गर्ने कुरा चर्चाको शिखरमा हुने गर्छ । यद्यपि, यस्तो बहुसंख्याक छैनन् ।
समानताको कुरा गरिरहदा बाँकेको प्रहरीमा के छ अवस्था ? कति छन् त महिला प्रहरी इन्चार्ज ? खुल्दुली लाग्नु स्वभाविक नै देखियो । बाँकेमा महिलाले इन्चार्ज भएर चौकी हाकेको अत्यन्तै न्यून रहेको छ । भर्खरै ढकेरीमा महिला इन्चार्ज पुगेकी छन् । कार्यालयभित्रको प्रशासन, महिला सेल, उजुरी छानबिन, उजुरी लेखन, अदालतमा महिला इन्चार्ज छन् ।
चौकीमा इन्चार्ज भएर जान महिलाले इच्छा नदेखाएको एसपी बीरबहादुर ओलीको भनाई छ । बाँकेमा ६२ युनिट छन् । एक सय ५० जना महिला प्रहरी छन् । इन्चार्ज हुन योग्य अर्थात असई एक दर्जनजति छन् । एसपी ओलीले भन्नुभयो, ‘फिल्डमा इन्चार्ज भएर आफ्नो कार्यकौशल देखाऊ भनेर पठाउन खोज्दा जान मान्दैनन्, महिला अगाडि बढ्नै मान्दैनन् ।’
एसपी ओलीले आफूले महिला प्रहरीलाई इन्चार्ज भएर काम गरेर देखाउन हौसला बढाउने काम गरिरहेको बताउनुभयो । ‘खडैचामा इन्चार्ज बनाइदिन्छु जाऊ भन्दा कोही मान्दैनन्, एसपी ओलीले भन्नुभयो, कतिपय ठाउँमा महिला नै छैनन् । त्यहाँ पठाउदा आनाकानी गर्छन् ।’
महिलाको विवाद या झगडा आउदा पुरुष प्रहरीले हात हाल्न मिल्दैन । त्यस्तो अवस्थामा महिला प्रहरी नै चाहिन्छ । कतिपय ठाउँमा महिला प्रहरी नै छैनन् । केही महिनाअघि राँझामा अतिक्रमण हटाउने क्रममा एक महिला घरभित्रबाट बाहिर निस्किनन्, पछि जिल्लाबाट महिला प्रहरी बोलाएर उसलाई समातेर निकाल्न लगाइयो । कुरा समानताको भएपनि दुर्गम दूरदराजमा जान नमान्ने महिला प्रहरीको समस्या देखिन्छ । हुन त बालबच्चाको समस्या हुने गर्दछ । जिल्ला, इलाका प्रहरी कार्यालयमा डिउटी गर्ने र बेलैमा गएर घर स्याहार्नु पर्ने बाध्यता रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !