कथा भित्रको कथा : बहादुरे र न्यारेटर
नेपालगञ्ज – हिड्दा हिड्दै मूलबाटोमा जब दुईटा बाटो फाँट्छन् यात्राले गन्तब्य भेट्न पनि सक्छ नभेट्न पनि सक्ने सम्भावना उत्तिकै रहन्छ । छुटिनु र भेटिनुको अनुभव फरक हो । अवस्था र परिस्थिति ब्यक्ति पिच्छे फरक रहला ।
ब्यथा नहुने मान्छे हुँदैनन्, मान्छे कै कथा हुन्छन्, कतिका कथा लेखिन्छन् कतिका त्यसै हराउँछन् । कतिपयका कथाका पाठक हुन्छन् अनि कति पाठकका कथा लेखिदैंनन् । कथा र ब्यथामा थोरै फरक छ । कथा शब्दलाई बुनेर लेखिन्छन् ब्यथा सपाट हुन्छन् ।
मान्छे ! हो त्यही मान्छे !!
ब्यथाले भरिएको हुन्छ । तर कथा उसले अरुका पढ्छ । के थाहा उसको कथा पनि ’सुपरहिट’ कथाको एउटा प्लट हो भन्ने । के थाहा उसको ब्यथा कथा बनेर ’बेस्टसेलर’ पनि त हुन सक्छ ।
विचरा बहादुरे दैनिक जीवनचर्याले फुर्सद हुँदो हो त पक्कै कथा लेख्थ्यो होला । उदाउँदो सूर्यसँगै ब्यथाको डायरी खुल्ने त्यो मान्छे कतिबेला लेख्न बसोस् । बालबच्चालाई लेख्ने सिसाकलम र कापी किन्ने ध्याउन्नमा उसको आफ्नो कथा बन्धकी रहन्छ । पुरै जीवन भर ।
एकाविहानै भालेको डाकोसँगै शुरु हुने बहादुरेको कथा बलवीरको भन्दा कमजोर छैन । बलवीर गाउँको हुने खाने जिम्वालको छोरो हो । सदरमुकाम हुँदै काठमाडौंमा कथा लेख्छ, उ कथाकर भइसकेको पनि एक दशक भइसकेछ । बहादुरे नामको मात्रै होइन बल र मन दुबैको बहादुर छ । तर बहादुरेको कथा लेखिदिने कोही भएन ।
ओखलढुङ्गाको एउटा भिरालो पाखा केही घरहरु भुकम्प पछि लामो समयसम्म पनि बनिसकेका हुँदैनन् । तिनै घरहरु मध्येको एउटा घरको घरमुली हो, बहादुरे ।
अरे सर घर नै छैन के घरमूली भन्नुहुन्छ ?
(बहादुरे प्रतिप्रश्न गर्छ ।)
बहादुरे जंगलबाट गाईवस्तुलाई खुवाउने स्याउला घाँस लिन हतारिंदै भत्किएको घरको बाँकी रहेको मूल ढोका बन्द गर्छ । त्यही बन्द गरेकै मूल ढोकाबाट उसका ब्यथाहरु लस्करै उसको अघि पछि हिंड्छन् ।
म एक्लै कहाँ छु र सर,
मेरा ब्यथाहरुले साथ नछोड्दा सम्म म कहाँ एक्लो हुनु ।
(बहादुरे खुर्पेटो भिर्दै भोकाएका गाईवस्तुलाई पेट भराउने आहार खोजीमा निस्कन्छ, उसको दिनको शुरुवात त्यहिंबाट शुरु हुन्छ ।)
करुणाले भरिएको बहादुरेको मन पनि कति छ्याङ्ग छ, आफ्नै पेट खाली हुँदा पनि पहिले गाईवस्तुको पेट भर्ने सोंच बोकेर निस्कन्छ । हो यो पनि त मान्छे हो, कथा बल्ल पो शुरु हुन्छ ।
दुई छोरा छोरी छाडेर अर्कैसँग हिंडेकी श्रीमतीलाई कसरी विर्सन सक्छ र बहादुरे ! साँच्ची मालिक हुँ भने म ९ बर्षकी छोरी र ५ बर्षको छोरो । यी दुई अनमोल रत्नको मालिक हुँ भन्छ बहादुरे ।
घरिघरि थप्छ–’अरे सर म पनि मालिक त हुँ नि, यी दुई रत्नका ।’
उकाली र ओरालीमा कुद्न बहादुरेलाई कसैले पछार्न सक्दैनन् । पछा¥यो त केबल बहादुरेलाई उसको सोझोपनले ।
‘आकाश र धर्तिको मिलन जस्तै भयो सर हाम्रो माया । खै कसको आँखा लाग्यो ।’ बहादुरे झिसमिसेमा दुई रत्नलाई भत्किएको छानो मुनि च्यातिएको कम्बलको ठूलो टुक्रा ओडाएर सुताएपछि कोदोको तीनपाने सँगै विरक्तिन्छ । कम्बलको सानो फेरो आफ्नो लागी राख्छ ।
तीनपानेको भनक छोरा छोरीमा पर्न पनि दिन्न हजुर । यो ठूलो कम्मलको टुक्रा छ नि सर मेरी आमाले म सानो छँदा ओडाउँथिन् अरे !
अहिले पो टुक्रा टु्क्रा भयो उहिले त ठूलो फराकिलो थियो । बाहदुरेको मन पनि कम्मल जस्तै टुक्रा टुक्रा भयो । आमाको देहान्त बाबुले अर्कै विहे गरेर सुको कौडी सम्पत्ति नदिएर मधेश झरेपछि । त्यसमाथि जीवन साथीले साथ छोडेर हिंडि दिंदा । नभए बहादुरेको मन पनि पुरानो कम्मल जस्तै ठूलो र फराकिलो थियो नि ।
बहादुरे त्यति कमजोर कहाँ छ र ! गाउँभरी नयाँ घर बनाउनेहरुका लागि चाहिने रुख काट्ने काम गर्छ । एउटा रुख ढालेको रुखको आकार र घरमूलीको हैसियत हेरेर रकम लिन्छ । रुख ढाल्ने मसिन छ सर मसँग तर कसै कसैसँग त मन काट्ने यन्त्र हुँदो रहेछ ।
(निधारमा आएको पसिना पूर्व श्रीमतीको रातो पछ्यौराको फेरोले पुछ्दै बहादुरे गफिन्छ, कहिलेकाहीं त महाकवि देवकोटा र शेक्सपियर्सका जस्तै साहित्य मिसाउँछ बहादुरे )
घर भत्काउन पो सजिलो रैछ, बनाउन त बडो जुलुम छ सर । अलि पैसा जुटाउँ अनि हरियो जस्ताले छाएको दुई तल्ले घर बनाउँछु । बहादुरेको यो आत्मविश्वासले उसलाई काममा निरन्तर लाग्न ठूलै मद्दत दिन्छ ।
झिसमिसे सँझ हुँदा उता परबाट पोकली झरना झरेको आवाज सुनिन थालेपसछ बहादुरे रुख काट्ने काम छाडेर घरमा छोराछोरी भोकाए होलान् भन्दै बुर्कुसी ठोक्छ, उकालै उकालो । सर विस्तारै आउनु है, म खाना पकाउँदै गर्छु, मेरा नानी भोकाए होलान । घर भत्काउन भन्दा त मन भत्काउन पो छिटो हुँदो रै’छ है सर, फागुन २५, १० बर्ष पहिले आजकै दिन हाम्रो विहे भएको थियो नि सर ।
नानी बाबुलाई विस्तरामा सुताएपछि बहादुरे अलि पर रहेको गोठभित्र खुसुक्क छिर्छ र अँध्यारोमा छामछाम छुमछुम गर्दै एउटा जर्किन हातमा लिएर आउँछ ।
अलि कडा छ सर, आज सरले पनि अलिकति पञ्चाम्रित जति लिनुहुन्छ कि ! एक्लै पिउन मज्जा नआउने क्या सर !!
(कोदोको प्योर अर्गानिक हो सर, केही मिसाएको छैन ।)
कोदोको तीनपानेसँगै बहादुरे फेरी बहकिन्छ
भोली उठी कहाँ जाने केही थाह छैन
फर्कि आउने हो कि होइन केही थाह छैन…
सुरिलो स्वरमा मातिएको बहादुरे गुनगुनाउँछ ।
भोली ४ वटा रुख ढाल्नुछ सर,
बल्ल बल्ल त रुख काट्ने मेसिन किनेको पैसा उठ्यो, अब फाइदा कमाउने हो । बहादुरे मातियो अब उ सुत्ने तरखरमा छ ।
सरको गिलास त भरिको भरि छ त है, हैट पिउनु भएन छ त सर । म त एक्लै पो पिएछु । हुन त जीवनभरी सँगै बाँच्ने सँगै मर्ने कसम खाएकीले त छाडेर गई, यी शहरका मान्छेले के साथ दिन्थे !!
बहादुरे सँच्चिकै सोझो छ ।
केही महिना भित्र बहादुरेले नयाँ घर बनाउने जग खनाउँछ । घर विस्तारै बन्दै जान्छ बहादुरेलाई घर कसले सम्हालिदेला भन्ने पीडाले पिरोल्छ । बहादुरे जब घरको छानो हाल्छ हरिया जस्ताको उसले आमाको हरियो फरिया सम्झन्छ । श्रीमतीको हरियो चुरा बहादुरेका आँखा वरिपरि फनफन्ती घुम्छन् ।
उज्यालो भएर छर्लङ्ग हुँदा छोरा छोरी बुवा उठ्नुस् न उठ्नुस् भन्दै बोलाउन आएपछि बहादुरे सपनाबाट झसङ्ग हुँदै ब्युँझन्छ ।
बहादुरेको कथाको प्लटको खेती गर्ने काम उता शहरबाट आएका केही आईएनजिओका समभ्रान्त परिवारका न्यारेटरहरुले गरे पनि कथाको पात्र मर्नु हुँदैन भन्ने सोंचले निरन्तरता पाउँछ । पुरस्कार र बेस्टसेलरको नाममा कथाको पात्रलाई उत्तानो पार्ने पछार्ने, निमोठ्ने अनि बजार्ने काम हुन नहुनेमा न्यारेटर बडो सजग रहनु पनि कथा भित्रको मूल कथा हो । कथा र ब्यथा नहुने को नै पो हुन्छन र !!
फरक यति हो कसैका लेखिन्छन् कसैका हराउँछन् ।
कसैका कथा बिक्री हुन्छन् त कसैका पढ्न समेत पढिंदैनन् । यो कथा हो जिन्दगीको । सम्झना र विर्सनाको, यो ब्यथा भित्रको कथा हो सफलता र असफलताको । त्यो न्यारेटर आफु लुप्त भएर पनि पात्रलाई जिवन्तता दिन्छ त्यो पो कथा हो ।