गोरु लिलाम हुनै मुश्किल

नेपालगञ्ज – एउटा गोरुलाई पाँच हजारका दरले लिलाममा राखियो । सकार्ने मान्छे कोही भएनन् । केही घण्टापछि चार हजार मूल्य कायम गरियो । तर, पनि कोही आएनन् । तेस्रो पटक फेरि सूचना निकालियो, एउटा गोरुको मूल्य दुई हजार पाँच सय ।
तेस्रो पटकमा चितवनका निरज वलीले ५३ वटा गोरु लिलामीमा लिए । ‘ओ हो ! बल्ल–बल्ल गोरु लिलामी भयो,’ भन्सारका कर्मचारी भन्दै थिए । गाउँघरमा पाल्नै छोडेपछि गोरुको मूल्य यति सस्तो भएको हो ।
दाङको गढवाबाट शनिबार राती बरामद भएका ५७ वटा गोरु नेपालगञ्ज भन्सारमा ल्याइएको थियो । ट्रकमा राखेर ल्याउदा ल्याउदै चार वटा गोरु मरेका छन् । नेपालगञ्ज भन्सारमा गएराती ल्याइपु¥याइएको थियो । एक रात ट्रकमै राखिएको थियो ।
भन्सार कार्यालयले जिउदो गोरु बुझेपछि सोमबार विहानदेखि लिलाममा चढाइएको थियो । साँझ अबेर मात्रै गोरु लिलाम भएको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले तेस्रो पटक मूल्य संशोधन गर्दा मात्रै गोरु लिलाम भएको बताउनुभयो । ‘एउटा गोरुको मूल्य ५ हजार राखेर लिलामी शुरुवाती गरेको थियौ । त्यसपछि चार हजार हुँदै दुई हजार पाँच सयमा झार्दा बल्ल लिलामी भयो, भन्सार प्रमुख निरौलाले भन्नुभयो, एक लाख ३२ हजार ६ सयमा ५३ वटा गोरु लिलाम भएको छ ।’
भारतबाट गोरु तस्करी भइरहेका छन् । खेतीपातीका लागि भन्दै बाँके, बर्दिया, दाङ नाकाबाट भित्र्याइने गोरु पूर्वी तराई हुँदै बंगलादेश पु¥याउने गरेको पाइन्छ । सोमबार लिलामी भएका ५३ वटा गोरु पनि चितवनका वलीले सकारेका छन् । पूर्व–पश्चिम राजमार्गका चेकिङले समातिने गोरु अब भन्सारबाट चितवनका व्यक्तिले लिलाम सकारेकाले निर्वाध रुपमा त्यहाँसम्म पुग्ने भएको छ ।
पछिल्लो समयमा गाई, गोरु छाडा छोड्ने प्रवृत्ति बढेको छ । नेपालगञ्ज नाकाबाट दैनिक ठूलो संख्यामा गाईगोरु भित्रिने गर्दछन् । निशुल्क दिंदा पनि गाई र गोरु लगिएको पाइदैन ।


error: यो सुविधा उपलब्ध छैन !