कोरोना, करुणा र काठमाडौं
काठमाडौं – करिब–करिब हप्ता दिन अघि नेपालगञ्जबाट काठमाडौं बिमानस्थल उत्रिएको म केही दिनको यताको बसाई सकाएर नेपालगञ्ज फर्किने तयारीमा छु । काठमाडौं आएको भोलीपल्ट स्कुटी लिएर काठमाडौं फन्को मार्दै गर्दा आफैलाई अनौठो लाग्दै थियो, सवारी साधनको चाप एकदम कम थियो । पहिलोपटक काठमाडौं शहरमा स्कुटी घुइक्याउदै गर्दा मलाई निकै सहज भइरहेको थियो, ट्राफिक समस्या नहँुदा । तर अनौठो त्रास र तरंग भने ममा बार–बार आइ नै रहे ।
सधैं आउँदा देखिने त्यो ठेलमठेल र भिडभाडबाट टाढा थियो, राजधानी निकै शान्त थियोे । मानौं सिंगो राजधानी बिपस्यना मै थियो, न्युरोडमा मान्छे ठोक्किदै हिड्ने गल्ली सुनसान थिए । तितौरा, गुतपाक र पुस्टकारी दोकानका साहुजीका हात मोबाइल तिरै ब्यस्त थिए असरल्ल भुइँ भरी अकोरियमका सामान फिजाएर खैरे कुरेर बसेका ब्यापारी त्यो दिनभरी नेपाली अर्थात भेटिएका आन्तरिक पर्यटक फकाउदै गरेका भेटिन्थे, बसन्तपुर दरबार क्षेत्र नि शान्तमय थियो ।
कोरोनाको कहर काठमाडौ वरिपरि सहजै अनुभुति गर्न सकिने खालको थियो, बजारमा सिटामोल, राइनेक्स जस्ता औषधी धमाधम बिकिरहेका थिए भने साधारण र सस्ता मास्क असाधारण मूल्यमा बिकिरहेको थियो । यसपटकको काठमाडौं यात्रामा हामीले नेपालगञ्जदेखि रारासम्मको लागी तयारी गरिरहेको राराच्यालेन्ज २०२० को ब्रिफिङ्ग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई गर्न चाहन्थे । उहाँसँग समय मिलाउन एउटा म्यासेज टेस्ट गरे सहजै भेटका लागी सिंहदरबारको निम्तो मन्त्री ज्यूबाट पाए । नेपालगञ्जलाई माननीय पर्यटन मन्त्रीले दिएको रेस्पोन्सबाट खुशी हुँदै नेपालगञ्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष रमेश मल्ल र म सिंहदरबार पस्यौ अनि हाम्रो प्रस्ताव मन्त्री ज्यूलाई बुझाइयो । सदनमा जानुपर्ने भएका कारण लामो कुराकानी हुन नपाए नि हामीले आफ्ना कुरा सुनाइयो कोरोना प्रकोपको अवस्थाका कारण १५ दिन कुरेर थप छलफल अघि बढाउने मन्त्री ज्यूको सकारात्मक भनाइ सँगै हामी सिंहदरबारबाट बाहिरियौं ।
हाम्रो अर्को मिसन थियो ‘ग्रेट बुद्धिस्ट ट्रेल’ मा सहभागिता जनाउने जुन यही २३ गतेदेखि २६ गतेसम्म काठमाडौ स्वयम्भूदेखि बुद्ध लुम्बिनीसम्मको थियो । नेवा सभ्यता र शाक्य (बौद्ध) सभ्यतालाई जोड्ने एउटा पर्यटकीय प्रोड्क्ट थियो, यो साइकल यात्रा । जसका परिकल्पनाकार थिए– पर्यटनकर्मी बिक्रम पाडे काजी । अन्तिम तयारी सहितको अन्तिम साँझ स्वास्थ्य मन्त्रालयले कार्यक्रम स्थगितको लागि पत्राचार गरेपछि कोरोनाका कारण हाम्रो दोस्रो मिसन असफल भयो । कार्यक्रममा सहभागिताका लागि नेपालगञ्जबाट आइपुगेको म, रमेश मल्ल, बाबुराम बिक र शिव चौधरी सहितको ४ सदस्यीय टोली केही निराश भइयो तर भोलिपल्ट काठमाडौका साइकले आदरणीय ब्याक्तित्वहरु दाजु पद्मेन्द्र कर्मचार्य, ओशोपुजारी सहित झन्डै दर्जन बढी साइकलेहरुले हामीलाई पाटनढोका बोलाइ गरेको सम्मान र हाम्रो लागी आयोजना गरिएको ‘भोज’प्रती म आभारी छु र सधैं यो प्रेम र सम्मान याद गरिरहने नै छ । यस्तै अर्को भेटको अवसर बिश्व साइकल यात्री पुष्कर शाह सहित बिश्व साइकल सम्मेलनको टिमसँग भयो म पनि त्यो टिम को सदस्य भएको हुँदा बिश्वभर देखिएको कोरोना प्रभाव र २०२० मा नेपालमा हुने बिश्व साइकल सम्मेलनको कामलाई कसरी अगाडि बढाउने भन्ने छ्लफल सहितको बैठक उपलब्धि मुलुक बन्यो ।
कोरोनाको सन्त्राससँगै सबैमा करुणा जाग्नुपर्ने हो तर त्यसो देखिएन काठमाडौमा । ग्याँस र खाद्य सामाग्रीका साथै सिटामोल लगायतका औषधी र ह्यान्ड सेनिटाइजर माक्सको अभाव भएको र यो अभाव बढ्दै जाने हल्ला चुलिदै गएको सुनिन्थ्यो मानिसमा । कोभिड–१९ कोरोना भाइरस भन्दा ग्याँस लगायत अत्यावश्यक खाद्य तथा औषधीजन्य सामाग्रीको अभावको बढी चिन्ता र त्रासले सताएको सुनियो, देखियो ।
भाइरसको बजार हल्ला जस्तो समस्या नदेखिएको भएपनि हाम्रो मुलुकको क्षमता र अवस्थाका कारण उच्च जोखिममा चाहिँ हामी छौं नै तर यसको गलत फाइदा उठाउनु भन्दा सबै जना बाँच्ने र बच्ने संकल्प सहित अप्ठ्यारो परिस्थितिलाई एक भएर सामना गरौं ।