बाँदरलाई आकाशे पुल

नेपालगञ्ज – बाँदरलाई पुल, सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । हो, बाँके राष्ट्रिय निकुञ्जले बाँदर र लोखर्केका लागि आकाशे पुल बनाएको छ ।
व्यस्त शहरमा मान्छेलाई सडक पार गर्न आकाशे पुल बनाएको देखिएको÷सुनिएको कुरा भयो । घना जंगलमा बाँदरलाई आकाशे पुल बनाएको कुरा अनौठो लाग्न सक्छ । दुर्घटनाबाट बचाउन शहर बजारमा मानिसका लागि आकाशे पुल बनाएको जसरी राजमार्गमा पर्ने जंगलमा बाँदरलाई बचाउन आकाशे पुल बनाइएको हो । जीवन त मान्छेको होस् या जनावरको अमूल्य छ नै ।
पूर्व–पश्चिम राजमार्ग तथा रत्न राजमार्गमा निकुञ्जले बाँदर र लोखर्के प्रजातीका लागि सात वटा आकाशे पुल बनाएको छ । निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा आकाशे पुल बनाएर निकुञ्जले जनावरलाई सडक क्रस गर्न सहज बनाएको छ । राजमार्गमा सवारी साधनसँग जनावर ठोक्किने गरेको पाइन्छ । बाँके र बर्दिया निकुञ्जमा बाघसमेत सवारी साधनसँग ठोक्किएर मरेको छ । अरु जनावर त धेरै मरेका छन् ।
कम्तीमा रुख–रुखबाट नै एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने जनावरलाई आकाशे पुल बनाइदिंदा त्यहीबाट वारपार गर्न सजिलो हुने र तलबाट सडक पार गर्दा सवारी साधनले ठक्कर दिन सक्नेतर्फ ध्यान दिदै निकुञ्जले आकाशे पुल बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले पूर्वपश्चिम महेन्द्र र सुर्खेत जाने रत्न राजमार्गमा बनाइएको आकाशे पुलबाट बाँदर, लोखर्के प्रजातीका जनावरले सडक वारपार परेको बताउनुभयो । निकुञ्जले आकाशे पुल राखेको ठाउँमा क्यामेरा फिट गरेको छ । त्यसले जनावरले पुल भएर सडक वारपार गर्दा फोटो खिँच्छ । यस्तो पुललाई ‘क्यानोमी ब्रिज’ भनिन्छ ।
देशकै कान्छो निकुञ्जमा बाघ, चौकादेखि विभिन्न प्रजातीका जनावर छन् । आन्तरिक र बाह्य पर्यटकको रोजाई बन्न थालेको निकुञ्जमा जनावरका लागि बनाइएका यस्ता आकाशे पुलले पर्यटकलाई लोभ्याउने गर्दछ । पर्यटकको संख्या बढ्दै गएपछि निकुञ्जमा हात्तीको संख्या थपेर ६ वटा पुर्याइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !