भलिबल ब्यूटी : पीएम कप
नेपालगञ्ज – भुँईमा खस्न नदिई बललाई माथी–माथी हान्नुलाई भलि भनिन्छ क्यारे ! परिभाषामा अल्झिनु पर्ने कतै लेख्या छैन, लेख्या छ त नियम मान्नु पर्ने कुरा । नियम पनि त बदलि रहन्छन् खेलका, तर खेल्नु पर्छ मज्जाले भन्ने हो ।
विद्यालय पढ्दा सुनेको कुरो हो यो त । स्कुले जीवनमा केही समय भलिबल पनि खेलियो केवल मनोरञ्जनका लागी मात्रै । फस्ट लाइनमा सर्ट हान्नु बडो मज्जा लाग्थ्यो तर त्यो सधैं चुनौतीपूर्ण रहन्थ्यो । रेजरले उठाएको बलसँग टाइमिङ र प्लेसमेन्ट नेटको मथिल्लो पट्टीलाई पार गर्नु त हुँदै हुन्छ त्यसका अतिरिक्त विपक्षीको दुई हत्केलाको चेकलाई छलेर बल सीमारेखा भित्र भुँईमा खसाल्नु सटरका लागी निकै ठूलो उपलब्धिमुलक मोमेन्ट हो । कहिलेकाहीं लेफ्टबाट छक्यायर गरिने सर्ट प्रहारले दर्शकलाई रोमाञ्चक बनाउँछ, भलिबल खेलमा । विपक्षधर टिमका खेल प्रशंसकले चेक..चेक भनिरहँदा पक्षका समर्थक दर्शकको ठोक..ठोक पनि बर्सिन्छ ।
कहिलेकाहीं कसै–कसैको सर्विस बलले नै आँच्छु–आच्ँछु पारेको हेर्न पाउनुको मज्जा बेग्लै हुन्छ, लम्बाई १८ मिटर र चौडाई ९ मिटर भित्र । कोर्टभित्र खेलाडी ६–६ जना, बल भुँईमा झर्न नदिएर हातले माथी–माथी खेल्नु पर्ने, तराई, पहाड र हिमाल सबैतिर खेल्न सकिने खेल हो – भलिबल ।
नियम र अनुशासन पहिलो शर्त मान्नै पर्छ जुनसुकै खेल होस् । अब थप ख्याल गर्नु पर्ने कुरा भनेको स्तरियता हो । हार्दिकता पनि उत्तिकै चाहिन्छ । ब्यवस्थापकीय रुपमा भब्य र सभ्य पनि बनाउनु पर्छ ।
पुरुषद्वारा आविष्कार गरिएको, महिलाद्वारा सिद्ध गरिएको खेलका रुपमा लिइन्छ भलिबल खेललाई विश्व समुदायमा । फेब्रुअरी ९, १८९५ मा, विलियम जी मोर्गन, होल्योके, मैसाचुसेट्स संयुक्त राज्य अमेरिकाबाट यो खेलको शुरुवात भएको पाइन्छ ।
नेपालमा भलिबल खेलको शुरुवातबारे यकिन मिति नभेटिए पनि खेल नेपाल भित्रिएदेखि नै यो लोकप्रिय छ । सन् १९४२ आसपासमा नेपालमा भलिबल खेल्न शुरु गरिएका आधारहरु पाइन्छन् । जापानको बाटो हुँदै एशिया भित्रिएको भलिबल खेललाई यहाँसम्म ल्याउन सेना तथा प्रहरीको भूमिकाले अरु खेलाडीलाई प्रेरित गरेको झैं लाग्छ मलाई । फौजी वर्गबाट भलिबल खेल शुरुवाती चरणमा नेपाल पस्यो । अनि हाम्रो नेपालगञ्ज जोडिन्छ हरेक खेलसँग । यो शहर आफैमा खेलका लागि पनि उर्वर र मलिलो शहर हो ।
नेपालगञ्ज अहिले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको अन्तिम तयारीमा जुटेको छ । छैठौं संस्करणमा जुटिरहँदा यस क्षेत्रका जनप्रतिनिधदेखि उद्योगी, ब्यापारी अन्य निजी क्षेत्र र यहाँका स्थानीय वासिन्दाहरुले समेत अपनत्वबोध गर्न थालेको महशुस हुन्छ । सञ्चार जगतको उत्साहपूर्ण सहकार्यसँगै भब्य र सभ्य रुपमा आयोजना हुन सक्नु पर्छ । साविकको मध्यपश्चिम खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम वली, भलिवल संघका बाँके अध्यक्ष टीएस ठकुरीसहितको टोली यस पटकको पीएम कप महिला भलिबल कपका लागी लगातार सहकार्यमा जिल्लावासी सबैलाई अपनत्व बोधका लागी आव्हान गर्दै खटिरहेका छन् ।
यो पटक केही स्थानीय तहले पनि आयोजकलाई सहयोगीको हैसियतमा लागि पर्ने प्रतिबद्धता देखाउनुले यो क्षेत्रको खेलकुदको विकासमा थप उत्साह थपेको छ । प्रदेश सभा सदस्य कृष्णा केसीको अगुवाईमा छैठौं संस्करणलाई भब्य र सभ्य बनाउने प्रयास जारी रहेको बुझिन्छ । यो प्रयासले भलिबल खेलाडी सँगै यो क्षेत्रको खेलकुदले नयाँ उचाई चुम्ने कुरामा दरिलो साथसँगै गर्विलो ईतिहास बनाउन सके खेल कर्ममा लाग्नेहरुलाई उत्साही बनाउने छ ।
२०७० सालदेखि शुरु भएको पीएम कपले खेलको अन्तर्राष्ट्रिय स्तरलाई आत्मसाथ गर्दै ब्यवस्थापनमा थप फड्को मार्न सक्नु पर्ने चुनौती कायमै छ । यो स्तरको खेल धनगढी र पोखरा लगायतका केही शहरहरुमा शुरु भए पनि त्यसले निरन्तरता पाउन नसक्दा नेपालगञ्ज कोशेढुंगा सावित हुने कुरामा चुक्नु हुँदैन । ग्ल्यामर र मनोरञ्जन एकसाथ चल्न सक्ने माध्यम हो, भलिबल खेल । महिला भलिबलको कुरा आउँदा, यसको क्रेज संसारभरी बेग्लै महशुस गर्न सकिन्छ । किलर ब्युटी मार्टा मेनेगाट्टी इटालीकी भलिबल खेलाडीलाई नसम्झने कुरै आउँदैन । सन् २०१२ को लन्डन ओलम्पिकसँगै उनको चर्चा एकाएक चुलियो ।
नेपालमा २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेसँगै भलिबल राष्ट्रिय खेलको दर्जामा छ । खेलकुद मन्त्रालयले लामो समय लगाएर गरेको अध्ययनले भलिबल, तेक्वान्दो र क्रिकेटमध्ये एकलाई राष्ट्रिय खेल चुन्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
नेपालमा भलिबल संघ स्थापना भएको यति धेरै वर्षपछि राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय खेलमा काश्य पदक जित्यो । साथै महिला भलिबलको स्तरमा आएको सुधारलाई सकारात्मक रुपमा लिंदै थप स्तरीय बनाउने कुरालाई मूल मुद्दा बनाइनु पर्छ ।
भलिबलको कुरा गर्दा विश्व स्तरीय खेलाडी तलिता एन्टुनेज ब्राजिलकी राष्ट्रिय भलिबल खेलाडी मानसपटलमा आइहाल्छिन् । तलिताले छोटो समयमै आफूलाई स्थापित गर्न सफल भइन् । नेदरल्यान्डकी सेन काइजर राष्ट्रिय टोलीकी सिनियर खेलाडीमा पर्छिन् । नेपाली महिला भलिबल खेलाडीमा सिपोरा गुरुङ, मञ्जु गुरुङ, रमिला तण्डुकार लगायतका खेलाडीहरु अग्रपंक्तिमा आउने नाम हुन् । नेपाली महिला भलिबल खेललाई प्रतिभा माली, सरस्वती चौधरी र रेश्मा भण्डारी सहितका खेलाडीहरुले थप उचाईमा लैजाने प्रयास गरे । डिजिटल मिडिया र सामाजिक सञ्जालको यो युगमा फोटो र ग्ल्यामरले पनि भलिबल खेल र खेलाडीलाई लाइमलाइटमा राख्छ ।
यता सरकारबाट वर्षमा थोरै अंकको अनुदान बजेटको जगमा नेपालको भलिबल संघ सुस्त गतिमा चलायमान भइरहेको अवस्था छ । खेलाडीको जीवन स्तरका बारेमा राज्यको मौनताले खेलाडीको मनोबल कमजोर बनाउँछ । दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला भलिबल टिमले ऐतिहासिक पदक पनि जितिसकेको अवस्था छ ।
पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले नयाँ इतिहास बनाउने क्रममा नेपाली टोलीले श्रीलंकालाई तीन–शून्यको सोझो सेटमा हराएको स्मरणयोग्य छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा श्रीलङ्कालाई हराउँदै नेपालको महिला भलिबल टोली फाइनलमा प्रवेश गर्नु सुखद कुरा थियो । फाइनलमा भारतसँगको स्पर्धामा दुई सेट जितेर पनि थोरैले च्याम्पियन बन्नबाट चुक्यो । खेल यात्रा शानदार रह्यो । नेपालले यसअघि सागमा सन् १९९९, २००६ र २०१६ मा तीन पटक कास्य जितेको स्मरण गर्नै पर्छ । अन्तमास नेपालगञ्जमा आयोजना हुने जुन सुकै खेल वा अन्य ईभेन्टहरु अन्तर्राष्ट्रिय स्तरका बनाइनु पर्छ भन्ने मान्यतालाई अघि बढाउनु पर्छ भन्ने नै हो ।