जब सदाबहार धनराज गुरुङ गफिए….
बसन्त शर्मा (नेपालगज)- धनराज गुरुङ, नेपाली काँग्रेसका एक जुझारु नेता हुन् । अरु झैं बेला बेलामा चर्चामा आउने भन्दा पनि सदाबहार नेता झैं लाग्छन् उनी ।
एक दिन काँग्रेस महामन्त्री डा. शशांक कोइरालासँग गुनासो पोख्दै भन्न थाले, ’तपाई बोल्नु पर्छ, चुपचाप सुनेर मात्रै संगठन चल्दैन ।’
डा.कोइराला विस्तारै गुरुङलाई सोध्छन्, के हो बोल्ने भन्या ? बोलेकै त छु नि ।
गुरुङ डा.कोइरालालाई हौस्याउँदै थप्छन्, ’नेतृत्वका लागि तयार हुनु पर्छ ।’ महामन्त्री डा.कोइराला मन्द मुस्कान सहित दाँया हातको साइली औलाको नङ टोक्दै चुपचाप सुनिरहन्छन् । गुरुङ लगातार संगठनको आगामी नेतृत्वका बारेमा धारा प्रवाह महामन्त्री समक्ष आफ्ना कुरा राख्छन् । (महामन्त्री डा.कोइराला सँधैजसो चुपचाप थोरै हँ मा हँ मिलाउँछन् तर ठोस जवाफ दिंदैनन् ।)
गत उपनिर्वाचन ताका निकै चर्चामा रहेको कास्की २ का सम्भावित उम्मेदवार भए गुरुङ तर उम्मेदवार हुन नपाए देखि गुरुङको महामन्त्रीसँग गुनासो पनि रहेछ ।
बेला बेला अलि एग्रेसिभ हुँदै गुरुङ महामन्त्री डाक्टर सा’बसँग आफ्नो बोल्न पाउने हक जताइरहे पनि महामन्त्री डा.कोइराला उत्तेजित भएनन् ।
धनराज गुरुङको गफिने रफ्तारकाबीच थोरै स्पिड ब्रेकर बनेर मैले काँग्रेस महामन्त्री कोइरालालाई सोधें, ’डाक्टर सा’ब कतै चुक्नु त भएन ?’
मेरो प्रश्न पुरा नसकिंदै डा.कोइरालाको जवाफ थियो, ’उहाँको यो हक हो मसँग भन्ने ।’
फेरी गुरुङ थप्छन्, ’अलि बोल्नु पर्छ हजुर बोल्नुपर्छ, नेतृत्व लिने भनेकै अप्ठेरो परिस्थितिमा हो । सजिलो अवस्थामा त जसले पनि लिड गर्छ ।’
धनराज दाइले इतिहांस सम्झाउँदै थपे, ’सान्दाजु (बी.पी.) ले मातृका बाबु, गिरिजा बाबुले अनि सुशील दाले पनि अप्ठेरोमा नै नेतृत्व लिएको हामीले नबिर्सौं ।’
धनराज गुरुङ महामन्त्री माथि नैतिक दवाव बनाउँदै भन्छन्, ’पहिले केन्द्रिय सदस्य अनि महामन्त्री त्यसपछि उपसभापति अनि बल्ल सभापति यो कछुवाको चालमा नेतृत्व हुँदैन ।’
अलि पर बसेका पुराना महामन्त्री प्रकाशमान सिंहलाई इंगित गर्दै गुरुङ थोरै ब्यँग्य गर्दै थप्छन्, ’महामन्त्री त उता पनि हुनुभयो नि ।’
डा.कोइराला आफ्नो मन्द मुस्कान रोक्नै सक्दैनन् । यता धनराज गुरुङ थप्छन्, ’नेता भन्या त परिस्थितिलाई हेर्दै क्विक निर्णय सहित नेतृत्व दिने पो हो नि ।’
कास्कीबाट आफुले उपनिर्वाचनमा टिकट पाएको भए यसरी चुनाव जित्न सक्ने थिँए भनेर बिच्च बिच्चमा गफिए मज्जाले धनराज गुरुङ । उपनिर्वाचन ताकाको उनको उम्मेदवारीको विषयमा गुरुङ नमज्जाले पार्टी भित्रको ग्रुपिजमको चपेटामा परे । यति सम्मकी गुरुङ आफु उम्मेदवारको रेशमा नभएको सम्म भन्नु पर्ने अवस्थामा पुगेका थिए ।
गुरुङका कुरा सुनेर केही परबाट नजिक सरेका भूपु महामन्त्री (गणेशमान सिंह पुत्र) प्रकाशमान आफ्नो थेगो चाहींमा चाहीं जोड्दै अब हामी सब एकठाउँमा गोलबध्द छौं भन्न सम्म भ्याए । १२ औ महाधिवेशनबाट महामन्त्री भइसकेका सिंहले सर्वमान्य नेता गणेशमन सिंहको लिगेशीलाई पूर्ण रुपमा सदुपोग गर्न नसकेको आरोप बेलाबखत पार्टी भित्रै खेपिरहदा बीपी कोइरालाको लिगेशीका अर्का महामन्त्री पनि यतिमै सीमित हुने पो हुन् की भन्ने आशंकालाई थप बल दिन्छ ।
लिगेशीको राजनीति गरेका विमलेन्द्र निधि महामन्त्री हुँदै उपसभापति पुगि सकेका छन् । उनी काँग्रेस नेता स्व.महेन्द्र नारायण निधिका सुपुत्र हुन् ।
यतिबेला काँग्रेसमा त्रय नेताका सुपुत्र त्रय निधि, सिंह र डा.कोइराला पार्टी नेतृत्वको ‘कि पर्सन’ झैं देखिन्छन् । जसको परिवार लिगेशी मजवुत हो । तर १४ औं महाधिवेशन पछि कसको पल्ला भरी होला त्यसकालागी बेला कुर्नै पर्ने छ ।
काँग्रेसको पद र संगठनात्मक रेकर्ड केलाउने हो भने महामन्त्री नै अर्को पटकको सभापति हो । महामन्त्रीसँग संगठनको कमाण्ड रहन्छ तर एउटा अर्को कुरा के पनि हो भने पार्टी सभापतिले स्वयंले नचाहँदासम्म उ पार्टी नेतृत्वबाट हट्ने सम्भवना न्युन रहन्छ । यदि गणेशमान सिंह, परशुनारायण चौधरी र महेन्द्र नारायण निधिको संगठनको पोजिसनलाई केलाउने हो भने त्यो स्थिति यी त्रय सुपुत्रहरुमा लागु हुन जाने कुरा बेग्लै पनि होला ।
उता धनराज दाजुको पार्टी संगठन प्रतिको लगाव साँच्चिकै सरहानीय छ । बडो मन छुनेगरी नेतृत्व पंक्तिलाई भन्न सक्ने बेजोड ताकत छ उनीसँग । ‘मुस्किल छ पार्टी जोगाउन ।’ (छुट्टिनेबेला धनराज गुरुङको एकमात्र चिन्ता ।