नहुने भयो त सडक खाना महोत्सव ?

नेपालगञ्ज – नेपालगञ्जमा गर्ने भनिएको सडक खाना महोत्सव अन्यौलमा परेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले धम्बोझीचोक आसपासको सडकमा खाना महोत्सव गर्न नदिने भएपछि खाना महोत्सव अन्यौलमा परेको हो ।
होटल अर्गनाइजेशन बाँकेले फाल्गुन २३ देखि २५ गतेसम्म सुर्खेतरोड (धम्बोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग) मा खाना महोत्सव गर्ने तयारी गरेको थियो । स्थानीय तहबाट अनुमति लिएर खाना महोत्सवका लागि अगाडि बढेका होटल अर्गनाइजेशन, बाँकेका अध्यक्ष भीम कँडेल जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएपछि तनावमा पर्नु भएको छ ।
अध्यक्ष कँडेलले सुरक्षाको कारण देखाउन स्थानीय प्रशासनले सडक खाना महोत्सवका लागि अनुमति नदिएको बताउनुभयो । ‘हामीले अझै प्रयास गरिरहेका छौं । बिहीबारसम्म अनुमति पाइएन भने खाना महोत्सव क्यान्सिल हुन्छ, अध्यक्ष कँडेलले भन्नुभयो, फोरलेनको सडकको एकातिरको तीन सय मिटरमा एक लेन बन्द गर्दैमा के फरक पर्छ र ? अध्यक्ष कँडेलले अन्यत्रमा शहरमा यस्ता सडक खाना महोत्सव हुने गरेको जानकारी दिनुभयो ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी दीघराज उपाध्यायले धम्बोझी आसपासको सडकमा खाना महोत्सव गर्न दिन नसकिने बताउनुभयो । ‘व्यस्त सडकमा खाना महोत्सव गर्न दिन सकिदैन । सुर्खेतरोडमा ठूल्ठूला गाडी गुड्छन्, निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले भन्नुभयो, रोड भनेको त गाडी चल्ने ठाउँ हो । पसल राख्ने ठाउँ होइन ।’ निमित्त प्रजिअ उपाध्यायले रामलिला मैदान, सडक विभाग परिसर या न्यूरोडतिर खाना महोत्सव गर्न सुझाव दिंदा होटल अर्गनाइजेशनले नमानेको जानकारी दिनुभयो । ‘त्यही भीड हुने धम्बोझी नै भन्नु हुन्छ । हामीले त्यहाँ अनुमति दिनै सक्दैनौ, निमित्त प्रजिअ उपाध्यायले भन्नुभयो ।
नेपालगञ्जका विभिन्न धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको मौलिक खानाहरुको स्टल राखेर बजारीकरण तथा प्रवद्र्धन गर्न सडक खाना महोत्सव आयोजना गर्न थालिएको थियो । साँझ ६ देखि १० बजेसम्म हुने सडक खाना महोत्सव गर्ने तयारी थियो । भब्य लाईट, टेन्टसहितको व्यवस्था गरेर महोत्सव आयोजना गर्ने भनिएको थियो । महोत्सवमा तारे होटलदेखि मौलिक परिकार सहितका पचास बढि स्टल समावेश गर्ने तयारी थियो ।
महोत्सवमा निशुल्क प्रवेश दिइने भनिएको थियो । सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाउने र ५० हजार बढीलाई अवलोकन गराउने लक्ष्य राखिएको थियो । जसबाट दुई करोडको कारोबार हुने आशा गरिएको थियो ।
रोडमा खाना महोत्सव गर्ने र साँझ सपरिवार गीत, संगीतको तालमा विभिन्न प्रकारका परिकार खुवाउने होटल अर्गनाइजेशनको योजना असफल हुने संकेत देखिएको छ । स्रोतका अनुसार, धम्बोझी आसपासमा अनुमति नपाए सडक खाना महोत्सव रद्द गर्ने योजना बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !