बैंकमा किसानलाई ‘नो रेस्पोन्स’ !
नेपालगञ्ज – ३० वर्षका सुरेन्द्र खड्काले सात विगाहमा तरकारी खेती गर्नुहुन्छ । उहाँ बैंकमा तीन पटक ऋण माग्न जानु भयो । कुनै रेस्पोन्स नै भएन । पछि १७ प्रतिशत ब्याजमा ३० लाख ऋण लिनुभयो । यो पाँच वर्षअघिको कुरा हो । अहिले उहाँले १४ प्रतिशत व्याज तिरिरहनु भएको छ ।
सरकारले कृषिमा युवा, साना किसानलक्षित कार्यक्रमहरु ल्याइरहेको छ । बीमा, सुलभ कर्जा, ब्याजमा अनुदानजस्ता कार्यक्रमहरु ल्याउदा खड्काजस्ताको पहुँच पुग्न सकेको छैन । जति पनि अनुदानका कार्यक्रमहरु आउँछन्, बैंकमार्फत नै आउँछन् । बैंकले किसानलाई खासै रेस्पोन्स नै गर्दैन, अधिकांश कृषकको गुनासो रहेको छ ।
खड्काले १५ लाखको टमाटर बेच्नु हुन्छ । उहाँले भन्नुभयो, ‘कृषिमा सरकारले प्रोत्साहन, अनुदान के के भन्छ । हामीजस्ताको पहुँच हुन सकेको छैन । ३० वर्षमै पाँच सय एमजीको गोली खानु परेको छ ।’
खड्गबहादुर खड्काले २० विगाह जमिन लिजमा लिएर पशुपालन गर्नु भएको छ । उहाँ धेरै बैंकमा पुग्नु भयो, अहिलेसम्म ऋण पाउन सक्नु भएको छैन । ‘बैंकमा गयो । हाकिमले किसान भन्ने बित्तिकै मुन्टो बटार्नुहुन्छ । उद्योगी गयो भने तत्काल चिया, पानी सोध्छन्, खड्काले भन्नुभयो, किसानलाई रेस्पोन्स नै छैन । अति नै कर गरेमा किसानलाई बैंकले पैसा छैन भनेर पठाइदिन्छन् ।’ खड्काले किसान पनि दुई प्रकारको भएको उल्लेख गर्नुभयो, एउटा कागजमा खेती गर्ने, अर्को खेतमा खेती गर्ने । कागजमा खेती गर्नेको बैंकसँग पहुँच रहेको छ ।
लालबहादुर खत्रीले कृषि कर्जा सहजै नपाइएको गुनासो गर्नुभयो । ‘बैंकको ब्याजमा पनि एकरुपता छैन । कृषि कर्जामा वास्तविक किसान भन्दा विचौलियाको हावी छ, खत्रीले भन्नुभयो, सरकारले जुनसुकै कार्यक्रम ल्याउदा कृषि बिमालाई जोडेर ल्याउनु पर्छ ।’
कोहलपुर शीत भण्डारका डोरप्रसाद अर्यालले किसानलाई ऋण लिन बैंकको प्रक्रिया अति नै झन्झटिलो रहेको बताउनुभयो । ‘बैंकले रकम फ्रिज गराउँछन् तर किसानलाई दिन मान्दैनन्, अर्यालले थप्नुभयो, कृषि विकास बैंक कोहलपुरले ३८ लाख फ्रिज गर्यो । तर, किसानलाई दिएन ।’ उहाँले सरकारले सञ्चालन गर्ने सुविधा कार्यक्रमहरुमा भाषा किसानमैत्री भनेपनि परिणाम किसानमैत्री हुन नसकेको टिप्पणी गर्नुभयो ।
यी सबै किसानले ५ नम्ब प्रदेशका भूमि व्यवस्था, कृषि तथा शहकारी मन्त्री आरती पौडेललाई सुनाएर यी कुराहरु गरेका थिए । प्रदेश सरकारले साना किसानलाई लक्षित गरेर सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन गरिरहदा किसानले आशंकै आशंका गरेका हुन् ।
मन्त्री पौडेलले एक करोडसम्म लगानी गर्ने किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याएको र यो अति नै प्रभावकारी हुने बताउनुभयो ।
सबै किसानको कुरा सुनेपछि बर्दिया बाँसगढीका मेयर शालिकराम अधिकारीले बैंकमा किसान कक्ष अनिवार्य राख्नु पर्ने बताउनुभयो ।