खजुरामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धनमा कलेज

खजुरा – बाँकेको खजुरामा कृषि तथा वन विज्ञान कलेज सञ्चालनमा ल्याइदैछ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय चितवनको सम्बन्धन प्राप्त खजुरा गाउँपालिका वडा नं. ३ जनता नमूना माविमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शनिबार उद्घाटन हुँदैछ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले त्यसको उद्घाटन गर्दै हुनुहुन्छ ।
खजुरा क्षेत्रका राजनीतिक दलका नेतृत्व सांसद, खजुरा गाउँपालिका, जनता नमूना मावि, व्यवस्थापन समिति तथा अन्य सरोकारवालाको लामो समयको प्रयास र पहलपछि प्राविधिक धारतर्फ कृषि विज्ञान स्नातक तह सञ्चालन भएको हो । सञ्चालनमा ल्याइएको कृषि विज्ञान बिएस्सीएजीको उद्घाटन समारोहलाई भब्य बनाउन खजुरा क्षेत्रका अगुवाहरु लागि परेका छन् । मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको उद्घाटनलाई अझ सभ्य र भब्य बनाउनका लागि विभिन्न उपसमिति निर्माण गरेर तयारी तीव्र पारिएको प्रचारप्रसार तथा छपाई उपसमितिका संयोजक लेखनाथ सापकोटाले जानकारी दिनुभयो । उद्घाटन तयारीका लागि मञ्च व्यवस्थापन, अतिथि स्वागत सत्कार, जनपरिचालन, सांस्कृतिक तथा झाँकीलगायतका उपसमिति निर्माण गरिएको संयोजक सापकोटाले बताउनुभयो ।
यही कार्यक्रमको सन्दर्भ पारेर शनिबार नै ८ बजे कलेज वरपर सरसफाई कार्यक्रम राखिएको जनपरिचालन संयोजक राजकुमार विकले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !