विपीकाे वाटो छाड्न नहुनेमा जोड


नेपालगन्ज – निरंकुश राणा शासनविरुद्ध नेपालमा सुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ४३औ स्मृति दिवसमा विविध कार्यक्रम गरिएकाे छ ।

स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस केन्द्रीय समिति तथा विभिन्न तहका पार्टी कार्यालयहरुले देशैभर वृक्षारोपणका साथै सभा समारोहको आयोजना गरी महामानव स्वर्गीय विपी कोइरालाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रमहरुमा विपीको राजनीतिक, सामाजिक तथा साहित्यिक योगदानको चर्चासमेत गरिएको थियो । कार्यक्रमहरुमा नेपालमा विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनका शहिदहरुको श्रद्धान्जलीसमेत व्यक्त गरिएको थियो । स्मृति दिवस साताव्यापीरुपमा देशैभरि मनाइने काँग्रेस केन्द्रीय समितिले जनाएको छ ।

दिवसकै अवसरमा नेपाली काँग्रेस, बाँकेले आज बिहान नेपालगन्जस्थित विपीचोकस्थित विपीको शालिकमा माल्यार्पण तथा श्रद्धान्जील सभा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाली काँग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले विपीको शालिकमा माल्र्यापण गर्नुभएको थियो । त्यस अवसरमा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति गौडेलले महामानव विपी कोइरालाको बिचारको वाटो काँग्रेसले छाड्न नहुनेमा जोड दिनुभयो ।

स्मृति दिवसकै अवसरमा बाँकेको कोहलपुर-८, पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा बाँके काँग्रेसले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको थियो । उक्त पार्कमा विभिन्न जातका ८०० बिरुवा रोपिएका छन् । वृक्षरोपमा काँग्रेस केन्द्रीय सदस्य बाल्मिकी, सभापति गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेनुसिंह ठाकुरलगायत विभिनन तहका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सचिव कोइरालाले संचालन गर्नुभएको कार्यक्रममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, पूर्व पार्टी सभापति जननायक विपी कोइराला र संविधानका पिता, पार्टी सभापति एवंम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा केन्द्रीय सदस्य बाल्मिकी र सभापति गौडेललगायतले माल्र्यापण गरी श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

यसैबीच, स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ ले आज बिहान कोहलपुर शिक्षण अस्पतालका १०० जना बिरामीलाई फलफुल वितरण गरेको छ । क्षेत्रीय सभापति पोषण केसीलगायत क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरु एवम् विभिनन तहका नेता, कार्यकर्ताहरुले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो । स्मृति दिवसकै अवसरमा क्षेत्रीय समितिले आजै राप्तीसोनारी-८ स्थिति शिवशक्ति मावि र वडा नं. ५ स्थित भुवरभवानी माविको प्रांगणमा वृक्षरोपण गरिएको छ ।

क्षेत्रीय सभापति केसीका अनुसार, स्मृति दिवसका अवसरमा क्षेत्रीय समितिले भोलि साउन ७ गते राप्तीसोनारी-७, नन्कौपुरस्थित अमरज्योति माविमा पाठेघर मुखको क्यान्सरको पहिचान र बाँझोपन सम्बन्धि एक दिने शिविरको आयोजना गर्दैछ । शिविरमा नेपालगन्जस्थित एचसीआरसीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सेवा दिने जनाइएको छ ।

यस्तै, विपी कोइरालाको ४३औं स्मृति दिवसकै अवसरमा प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिएको छ । गिरीलाई प्रजातान्त्रिक सेनानी संघ, बाँकेले सम्मान गरेको हो । आज डुडुवा गाउँपालिकाको कम्दीस्थित पशुपतिनाथ सामुदायिक बन कार्यालय परिसरमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी संघ स्वर्गीय गिरीका सुपुत्र टिकानाथ गिरीलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा उपसभापति अधिकारी, संघका केन्द्रीय सदस्य रुपमाया बस्नेत, प्रदेश महामन्त्री जयलाल न्यौपाने, प्रदेश सदस्य गोविन्द ढकाल, जिल्ला सचिव कृष्ण सापकोटालगायतले बोल्नुभएको थियो । संघका अर्का सचिव डिल्ली रावतले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्ष संघका उपाध्यक्ष परमेश्वरी पाठकले गर्नुभएको थियो । सचिव सापकोटाका अनुसार, दिवसका अवसरमा सोही सामुदायिक बन कार्यालय परिसरमा विभिन्न जातका वृक्षरोपण समेत गरिएको थियो ।

यस्तै, महामानव विपी कोइरालाको स्मृति दिवसका अवसरमा साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रागंणमा वृक्षरोपण, नेपालगन्जको हडियाबाबा मन्दिरमा सरसफाई, किसानहरुलाई निशुल्क विउविजन वितरण र वक्ततृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गर्दैछ ।


error: यो सुविधा उपलब्ध छैन !