राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेललाई सम्मान


काेहलपुर – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई कोहलपुरमा स्वागत तथा सम्मान गरिएको छ ।
कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी आइपुगेका कप्तान पौडेललाई यहाँका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान गरेका हुन् । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मालगायतले पौडेललाई सम्मान गरेका छन् । कप्तान पौडेललाई स्वागत गर्दै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा राष्ट्रिय टिम छनौट समितिका संयोजक एलवी क्षेत्रीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सबैको सहयोग आवश्यक रहेको बताए । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई लुम्बिनीको पहिचानका रुपमा यसको प्रवर्दन र स्तराेन्नति गराउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहने बताइन् । कोहलपुर नगरपालिकाले हरेक वर्ष उपमेयर कप क्रिकेट प्रतियोगिता गराउँदै आएको जानकारी दिँदै उनले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानकालागि समेत नगरपालिकाबाट बजेट विनियोजन गरिने बताइन् । कोहलपुर नगरपालिकाले शिक्षा र खेलकुदका क्षेत्रमा ठूलो लगानी गरिरहेको उनको भनाई थियो । कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मानले थप उर्जा प्राप्त भएको बताएका थिए । उनले स्थानियस्तरबाटै खेलाडी उत्पादनकालागी राज्यले लगानी गर्नुपर्ने धारणा राखेका थिए ।  पौडेलले ८ फेब्रुअरी २०१८ मा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ए बाट क्रिकेटमा डेब्यू गरेका थिए । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनको यो पहिलो स्थलगत अवलोकन हो ।


error: यो सुविधा उपलब्ध छैन !