सडकआश्रित मानवकाे पुनःस्थापन प्राथमिकता:मुख्यमन्त्री आचार्य
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको मानवसेवा आश्रम शाखा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ। सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको चाहना पूरा गर्ने उद्देश्यसहित सहयोगापेक्षी तथा सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण अभियान अन्तर्गत उक्त भवन निर्माण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडकआश्रित व्यक्तिहरूको अभिभावकत्व ग्रहण गरी उनीहरूको पुनःस्थापनालाई प्राथमिकता दिने बताउनुभयो ।`कोही पनि भोकै बस्नुपर्ने छैन, सडकमा बास हुने अवस्था समाप्त पार्न सरकारले आवश्यक कार्यविधि बनाउनेछ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`कार्यविधि यसै बर्ष बनाउछाैं ।´
आगामी वर्षका बजेट तथा कार्यक्रममार्फत यस अभियानलाई थप मजबुत बनाइने उहाँको भनाइ छ ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार साढे ७ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको छ। प्रदेश र स्थानीय सरकारको १ करोड ८३ लाख सहयोग रहेको र बाँकी रकम विभिन्न दानदाताबाट संकलन गरिएको जनाइएको छ। भवनको पूर्ण निर्माणका लागि थप २ करोड बजेट आवश्यक पर्ने आश्रमले जनाएको छ।
प्रदेश सरकार र मानवसेवा आश्रमको सहकार्यले सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिका, तिलाेत्तमा नगरपालिका लगायत स्थानीय तहका प्रमुख, उप्रमुख, उद्योगी, व्यवसायी, समाजसेवी लगायतकाे उपस्थिति रहेकाे थियाे ।