लुम्बिनी कप राष्ट्रिय महिला फुटबलकाे युद्धस्तरमा तयारी
नेपालगन्ज – नेपालगन्जमा आयोजना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रारम्भिक तयारीका बारेमा पत्रकारलाई जानकारी गराइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप महिला फुटबल यही फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा हुँदैछ ।
नेपालगन्ज रंगशालामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगितालाई सभ्य तथा भव्यरुपमा संचालन गर्न युद्धस्तरमा तयारी थालिएको जानकारी गराउनुभयो । ‘खेलाडी तथा अफिसियलको बसोबास, खानपान तथा आउजाउलाई हामीले मुख्य प्राथमिकतामा राखेका छौ’,कार्यकारी प्रमुख शाहले भन्नुभयो ।
प्रतियोगितामा भारतका दुई र नेपालका ६ गरी आठ वटा क्लबको सहभागिता रहने शाहले बतउनुभयो । पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा शाहले भन्नुभयो, ‘स्रोत व्यवस्थापनका आधारमा प्रतियोगिताका विजेता, उपविजेता र तथा विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार उपलव्ध गराइने छ ।’
एक अर्को प्रश्नको जवाफमा शाहले भन्नुभयो, लुम्बिनी कप महिला फुटबलको सचिवालय नेपालगन्ज रंगशालामा स्थापना भइसकेको छ । हामीले विभिन्न उपसमिति समेत गठन गरेर केन्द्रदेखि जिल्ला तहसम्मका विभिन्न सरोकारवाला पक्षसंग समन्वय, सहकार्य र सहयोगका सम्बन्धमा छलफल शुरु गरिसकेका छौ ।
यति ठूलोस्तरको प्रतियोगिता नेपालगन्जमा आयोजना गर्नु नै मुख्य चुनौती रहेको बताउदै प्रतियोगिता आयोजनाको अगुवाई अन्तरालले गरे पनि यसमा सबैले अपनत्व ग्रहण गर्न सक्नुपर्छ भन्नुभयो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि स्थानीय एउटा सशक्त टीम सहभागी गराउने तयारी थालिएको बताउनु भयाे । पत्रकार भेटघाट कार्यक्रममा मिडिया संयोजक निरजकुमार गौतमले अहिलेसम्म भए गरेका तयारीका सम्बन्धमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले महिला फुटबल विकासका बहुआयामिक पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा राखेप लुम्बिनी प्रदेश सदस्य जनक केसी, सचिवालय प्रमुख रमेश मल्ल, परिचालन तथा समन्वय समितिका तेजविक्रम शाह, बाँके महिला फुटबल समितिका अध्यक्ष नितु शाह चन्दलगायतको उपस्थिति रहेको थियो ।