तीन महिला स्वयंसेविकालाई सम्मानसहित बिदाई

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाई गरेको छ ।
२१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरमा कार्यरत तीन जना ६० बर्ष उमेर पुगेका वडा नम्बर १० की बिना थापा मगर, वडा नम्बर १४ की सुरसती बृजबासी र वडा नम्बर ९ की मिना कुमारी विश्वकर्मा चौधरीलाई आज विदाई गरिएको हो ।
विदाई भएसंगै उनीहरुले संघीय सरकारको तर्फबाट ५० हजार, नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट ५० हजार र प्रदेश सरकारबाट २० हजार गरी १ लाख २० हजार रुपैयाँ पाउँछन् ।

सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ नेपालगन्जकी अध्यक्ष मनकुमारी सिलवालको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरमा कार्यरत सबै स्वयंसेविकालाई पनि सम्मान गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा १९२ जना स्वयंसेविका कार्यरत छन् । बाँके जिल्लामा ७८५ जना स्वयंसेविका छन् ।
कार्यक्रम अघि नेपालगन्जमा नाचगानसहित र्याली निकालिएकाे थियाे ।
नगर प्रमुख विष्ट, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले मातृ शिशु मृत्युदर घटाउन महिला स्वयंसेविकाकाे महत्वपूर्ण भूमिका रहेकाे भन्दै प्रशंसा गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !