अब ११ हजारमा शिलालेखमा नाम लेखिने


नेपालगन्ज – नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा दान गर्ने दाताहरुले ११ हजार दान गरेर वैकुण्ठधाम सिधनियाघाटको शिलालेखमा नाम लेखाउन सक्ने भएका छन् । यस अघि महोत्सवको आयोजकले २५ हजारदेखि माथिको रकम दान गर्ने दाताको नाम शिलालेखमा लेखिने निर्णय गरेपनि त्यसलाई संशोधन गरेर ११ हजारमाथि दान गर्ने दाताको नाम शिलालेखमा लेख्ने निर्णय भएको हो ।

वैकुण्ठधाम सचिवालयको आइतबार बसेको बैठकको निर्णय अनुसार शिलालेखमा नाम लेखाउन ११ हजार निर्धारण गरिएको वैकुण्ठधाम सिधनियाघाटका महासचिव श्रीराम सिग्देलले जानकारी दिए । वैकुण्ठधाम निर्माणमा धेरै भन्दा धेरै जनसभागिता जुटाउन शिलालेखमा दर्ज हुने दानको परिमाण घटाइएको उनले बताए । उनले यस अघि ११ हजार भन्दा कम दान दिने दाताहरुले पनि रकम थपेर पशलालेखमा नाम लेखाउन सक्ने जानकारी दिए ।

बाँके र यस आसवासमा व्यवस्थित दाहसंस्कार स्थल नहुँदा आफन्तको मृत्यु भएर शोकमा परेका स्थानीयबासीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै राप्ती तटको सिधनियाघाटमा अत्याधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने उद्देश्यले हाल नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव जारी रहेको छ । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलको प्रमुख वाचनमा जारी महायज्ञमा हाल सम्म १ करोड बढी दान संकलन भइसकेको आर्थिक संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।


error: यो सुविधा उपलब्ध छैन !