बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी तिब्र


नेपालगन्ज – बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि आयोजना गर्न थालिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी तिब्र गरिएको छ ।
वाचन शिरोमिण पण्डित दीनबन्धु पोखरेलको उपस्थितिमा कात्तिक २२ देखि ३० गतेसम्म नेपालगन्जमा महोत्सव आयोजना हुँदैछ । महोत्सवलाई सफल बनाउन चार हजार बढीको मूल समिति, एक सय आठ वटा उपसमिति गठन गरिएको छ ।
नेपालगन्जको रामलिला मैदानमा हुने श्रीमद् भागवत ज्ञानकथा यज्ञमा संकलन भएको रकमले बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि जग्गा खरिद गर्ने तयारी गरिएको छ । मूल समारोहका संयोजक डा. सुरेशकुमार कनोडियाले आठ लाखका दरले १४ कठ्ठा जग्गा खरिदका लागि बैना दिइसकेको जानकारी दिए । १४ कठ्ठा जग्गा किन्दा राप्ती खोलामा परेको थप १४ कठ्ठा जग्गा निशुल्क प्राप्त भएको छ । बैकुण्ठधामको परिकल्पना अनुसारका संरचनाहरु निर्माण गर्न तीन विगाह जमिन आवश्यक पर्ने मूल समितिका महासचिव श्रीराम सिग्देलले बताए ।
डुडुवा गाउँपालिका वडा नं. ५, राप्ती नदी तटमा बैकुण्ठधाम सिधनियाघाट निर्माण गरिने छ । यहाँ विद्युतीय शवदाहगृहसहितको व्यवस्थित घाट, किरियापुत्री घर, मन्दिर, सभा हल, ध्यान केन्द्र, पितृको मृत्युकर्म, सोह्र श्राद्धकर्म एवं पितृ मोक्षका अन्य कर्मकाण्ड सम्पन्न गर्न मिल्ने आध्यात्मिक उपवन ‘बैकुण्ठधाम’ निर्माण गरिने छ ।
बैकुण्ठधाम निर्माणमा सहयोगार्थ हुन थालेको बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा वाचन शिरोमिण पोखरेलद्वारा भागवत ब्याख्या हुनेछ । उक्त अवसरमा धार्मिक प्रवचन, आध्यात्मिक चिन्तनका साथै अन्य सनातन अनुष्ठानसमेत हुने प्रचार संयोजक हेमन्त कर्मचारीले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !